काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच नेपालपे कार्डको प्रिन्सिपल मेम्बरका लागि सम्झौता सम्पन्न भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बैंकले आफ्नो प्रणाली एकीकरण सम्पन्न गरी ग्राहकलाई नेपालपे कार्ड जारी गर्न तथा कारोबार सेवा उपलब्ध गराउन सक्नेछ। हाल उक्त प्रणालीमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भइसकेका छन्।
एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक सञ्चालन सुरु गरिसकेको छ, जसअनुसार नेपालभित्र तथा विदेशमा रहेका एटीएम र पीओएसमार्फत कार्ड प्रयोग गर्न सकिनेछ। यसले डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार गर्ने विश्वास लिइएको छ।
यस प्रणालीले कार्ड कारोबारको लागत घटाउने, डाटा स्वदेशमै सुरक्षित राख्ने तथा डिजिटल पूर्वाधार सुदृढ बनाउने अपेक्षा गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकले देशभरका शाखा, एटीएम तथा डिजिटल माध्यममार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।












प्रतिक्रिया