ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन


काठमाडौँ । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । बैशाख २१ गतेदेखि सेवा सुरु भएको हो । नेपाल टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहहरुलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

समुद्र सतहबाट करिब ३ हजार ७९४ मिटरको उचाइमा रहेको सो विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथिभरा माताको दर्शन गर्न जाने हजारौं श्रद्धालु भक्तजनहरूका साथै मन्दिर आसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरीजङ्घा गाउँपालिका र पाथिभरा याङ्वरक गाउँपालिकाका विभिन्न वडाका बासिन्दाहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने टेलिकमले जनाएको छ ।

अब मन्दिर दर्शन गर्न जाने क्रममा र मन्दिर परिसरमा श्रद्धालुहरूले सहजै सम्पर्क गर्न सक्नेछन् । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिर परिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिने टेलिकमले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

सञ्चारको पहुँचबाट टाढा रहेका सो जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दाहरू अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पुर्तिमा सहयोग पु¥याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउनेछ ।

उच्च पहाडी र विकट पदमार्ग भएका कारण स्वास्थ्य समस्या वा अन्य आपतकालीन अवस्था आइपर्दा तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित निकाय वा परिवारसँग सम्पर्क गर्न यो सेवाले महत्वपूर्ण भूमिका खेल्नेछ ।

त्यसैगरी सञ्चार सुविधाको उपलब्धताले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ । साथै, स्थानीय होटेल व्यवसायी तथा व्यापारीहरूलाई क्युआर कोडमार्फत भुक्तानी लगायतका डिजिटल बैंकिङ कारोबार र व्यवसाय प्रवद्र्धन गर्न सहज हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।