काठमाडौँ । नेपाली बजारमा यो साता सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबादेखि शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला २६५ रुपैयाँले महँगिएको हो ।
महासंघका अनुसार आइतबार सुनको भाउ एक हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँमा झरेको थियो । त्यसैगरी सोमबार र मंगलबार पनि सुनको मूल्य घटेको थियो । सोमबार तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा ३ हजार ८०० रुपैयाँले घटेको थियो ।
सातामा लगातार तीन दिन ओरालो लागेको सुनको भाउ बुधबार भने बढेको थियो । बुधबार एकैदिन सुन तोलामा ५ हजार ८०० रुपैयाँले बढेर प्रतितोलामा २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तोलामा एक हजार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा एक हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि साताभर एक कारोबार मात्र घटेको छ भने ५ दिन वृद्धि भएको छ । आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार २७५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको चाँदी बिहीबार तोलामा १०० रुपैयाँले प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।
इरान अमेरिका युद्ध सुरु भएसँगै ओरालो लागेको सुनको भाउ युद्ध अन्त्यको संकेत देखिदा सुनको मूल्यमा वृद्धि भएको जानकारहरु बताउँछन् । सामान्य अन्य युद्धको समयमा अधिक बढ्ने गरेको सुनको भाउ मध्यपूर्व द्धन्द्धमा भने ओरालो लागेको थियो ।
मध्यपूर्व युद्धमा तेलको मूल्य वृद्धि हुँदा लगानीकर्ताहरु तेलतर्फ आकर्षित भएका थिए भने सुनको मूल्य ओरालो लागेको थियो ।










प्रतिक्रिया