काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । शुक्रबार ३ अर्ब २८ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ६१ करोडको सेयर किनबेच भएको हो ।
सोमबार कारोबारमा आएका ३३२ कम्पनीका १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयरहरू ६८ हजार ४४४ पटक किनबेच हुँदा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार नेप्से २७.४९ अंकले बढेर २७४५.६५ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँ पुगेको थियो ।
सोमबारको कारोबारमा २२४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबारको कारोबारमा फष्ट माइक्रोफाइन्यान्स लघुवित्तको सेयर मूल्य करिब १४.१९ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीमा कुमारी धनवृद्धि योजना, डोल्टी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त र मेन्चिएम हाइड्रोपावर रहेका छन् ।
यता, त्रिशुली हाइड्रोपावरको सेयर मूल्य करिब ३ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा एनएमबी ५०, लक्ष्मी बैंक डेभेन्चर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ र प्राइम डेभेन्चर रहेका छन् ।
सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । रिलायन्स स्पिनिङ मिल्सको सेयर २१ करोड ११ लाख १९ हजार रुपैयाँको कारोबार हुँदा नेश्नल हाइड्रोपावरको १७ करोड ६० लाख ३२ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । एसवाई प्यानलको १६ करोड १० लाख ४६ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, रिडी पावरको १५ करोड ८८ लाख २६ हजार रुपैयाँको कारोबार हुँदा साहस उर्जाको १५ करोड २७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।












प्रतिक्रिया