काठमाडौँ । मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्ला वर्षहरुमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रुपमा बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै ९४ खर्ब ७२ अर्ब १० करोड ८ लाख रुपैयाँ डिजिटल माध्यमबाट कारोबार भएको छ ।
बैंकले कारोबारका माध्यमहरुलाई १६ शीर्षकमा छुट्टयाएको छ । ती माध्यमहरुबाट २२ करोड २९ लाख ४८ हजार १४७ पटकमा उक्त रकम कारोबार भएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधी अर्थात् चैत महिनामा १५ करोड ९४ लाख १ हजार ६४५ पटकमा २० खर्ब ९४ अर्ब २१ करोड ९ लाख रुपैयाँ भुक्तानी भएको थियो । उक्त तथ्यांकले पछिल्लो समय डिजिटल कारोबार बढ्दोक्रममा रहेको प्रष्ट पारेको छ ।
पछिल्लो समय प्रयोगकर्ताहरुले डिजिटल भुक्तानीको माध्यममा मोबाइल बैंकिङ प्रमुख आधार बनाएका छन् । चैत महिनामा मोबाइल बैंकिङबाट मात्रै ७ करोड ४४ लाख ६६ हजार ८८४ पटकमा ६ खर्ब १८ अर्ब ७१ करोड ६ लाख रुपैयाँ डिजिटल माध्यमबाट कारोबार भएको छ । गत वर्षको सोही अवधीमा ५ करोड ६१ लाख ९१ ह्जार ७१७ पटकमा ४ खर्ब ५० अर्ब ४५ करोड ३ लाख रुपैयाँ कारोबार भएको बंैैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
सन् २००४ देखि नेपालमा मोबाइल बैंकिङ सेवाको सुरुवात भएदेखि हालसम्म मोबाइल बैंकिङ सेवाको दायरा निकै फराकिलो बनेको छ । जसकारण विद्युतीय भुक्तानीमा मोबाइल बैंकिङको प्रयोग बढ्दै गएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् ।
विशेष गरी कोभिड १९ पछि नेपालले डिजिटल कारोबारमा फड्को मारेको छ । २०७८ को जनगणनाअनुसार ७५ प्रतिशत बढी नेपालीले स्मार्ट फोन प्रयोग गर्छन् । स्मार्टफोनको प्रयोगसँगै डिजिटल भुक्तानी गर्नेको संख्या पनि बढ्दै गएको हो ।
समग्रमा ग्राहकमैत्री र सुविधाजनक विशेषताका कारण मोबाइल बैंकिङको प्रयोग बढी भएको प्रवक्ता पौडेल बताउँछन् । ‘भुक्तानीका अन्य माध्यमको तुलनामा मोबाइल बैंकिङ धेरै सजिलो छ । साथै, यसमा कारोबार सीमा पनि बढी छ । त्यसमाथि अहिले अधिकांश नेपालीसँग स्मार्ट फोन छ,’ उनले भने, ‘साथै, प्रयोगकताहरुमा डिजिटल वित्तीय साक्षरतासमेत बढ्दै गएको छ । यी यस्ता कारण मोबाइल बैंकिङको प्रयोग बढ्दै गएको हो ।’
वित्तीय प्रविधिको क्षेत्रमा पछिल्लो समय अधिक परिवर्तन आएको छ । जसकारण अहिले पैसाको सानो एकाइदेखि लाखौं रुपैयाँसम्म तत्काल इन्टरनेट जोडिएको मोबाइल मार्फत लेनदेन गर्न मिल्छ । कुनै समय लाइनमा बसेर बिजुली, खानेपानी लगायतको महसुल तिर्नुपर्ने अवस्था थियो । अहिले केही सेकेन्डमै मोबाइलमार्फत रकम पठाउन सकिन्छ ।
डिजिटल भुक्तानी प्रणाली र वित्तीय साक्षरतामा वृद्धि भएसँगै मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, वालेट, इन्टरनेट बैंकिङ जस्ता माध्यमबाट डिजिटल कारोबार सहज बनिरहेको छ । शहरमा मात्रै होइन, गाउँघरका पसल र विक्रेताले पनि क्यूआर मार्फत भुक्तानी लिन थालेका छन् ।
‘डिजिटल प्रयोगले समयको बचत, नोट छपाईमा हुने खर्चमा कटौती, पैसाको सुरक्षा, पारदर्शीता र स्मार्ट जीवनशैली बनाउने हुँदा यसमा आकर्षण बढेको हो ।’ पौडेलले भने, ‘साथै जुनसुकै समय र स्थानबाट कारोबार गर्न सकिने सुविधाका कारण पनि यसको प्रयोग बढ्दै गएको हो ।’
डिजिटल कारोबार बढ्दै गएपनि कतिपय सेवा प्रदायकबाट पैसा पठाउँदा तत्कालै नजाने समस्या पनि कायमै छ । यसको परिणाम प्रयोगकर्ताले पैसा पठाउनुअघि संकोच मान्नुपर्ने अवस्था रहेको छ । त्यसका लागि सेवा प्रदायकले आफ्नो सफ्टवेयरलाई अझ बढी स्मार्ट र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । यस विषयमा राष्ट्र बैंक गम्भिर भएर सेवाग्राहीलाई नियमन र निर्देशन दिने काम भइरहेको पौडेलले बताए ।
डिजिटल बैंकिङ अर्थात् भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात् बैंकिङ एक नयाँ युग हो, अब पहिलेको जस्तो पैसाको कारोबार गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन, उनले भने ।
घरमै बसेर केही समयमै प्रविधिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि धेरै लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीलाई बैंकको प्रविधिसँग सम्बन्ध जोड्ने काम गरेको पौडेलले बताए ।
राष्ट्र बैंकको तथ्यांकअनुसार डिजिटल कारोबारका माध्यमहरू मोबाइल बैंकिङ, वालेट, डेबिट/क्रेडिट कार्ड, कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, एटिएम, इसीसी, फास्टर पेमेन्ट, क्यूआर, पिओएसलगायतको प्रयोग बढ्दै गएको हो ।
पछिल्लो समय मोबाइल बैंकिङजस्ता डिजिटल माध्यमहरुको प्रयोग बढ्दै जाँदा त्यसमा जोखिम पनि बढ्दै गएको छ । ह्याक गर्ने, ठगी गर्नेहरु बढ्दै आमग्राहकको पैसा लुटिएको पनि छ । यसमा ग्राहक सचेत हुनुपर्छ ।










प्रतिक्रिया