ब्रिटिस काउन्सिलद्वारा अवधारणापत्र सार्वजनिक


काठमाडौँ । ब्रिटिस काउन्सिलले विद्यार्थीको भाषिक यथार्थलाई प्रतिबिम्वित गर्ने तथा थप समावेशी, समानतामूलक र प्रभावकारी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ विश्वव्यापी अवधारणापत्र सार्वजनिक गरेको छ ।

अवधारणापत्रले शिक्षामा भाषिक नीति तथा अभ्यासबारे संस्थाको दृष्टिकोण प्रस्तुत गर्दै विश्वव्यापी रुपमा अंग्रेजी भाषाको बदलिँदो आयाम र यसका जटिलतालाई स्वीकार गरी भाषिक विविधता तथा समयानूकुल र सन्दर्भ अनुसारको निर्णय प्रक्रियाको महत्वलाई जोड दिएको छ ।

विश्वका विभिन्न देशमा थुप्रै शिक्षा प्रणाली अनुसार विद्यार्थीले बहुभाषिक वातावरणमा अध्ययन गरिरहेका छन् तर विद्यालयमा प्रयोग हुने भाषा उनीहरुको घर परिवारमा बोलिने भाषाभन्दा फरक हुन सक्ने अवस्था छ ।

अहिलेको विश्वव्यापी परिवेशमाा अंग्रेजी भाषाले शिक्षा, अन्तर्राष्ट्रिय आवागमन र आप्रवासन तथा अवसरका क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलेको भएपनि ब्रिटिस काउन्सिलले सबै देशका लागि शिक्षा प्रणालीमाा एउटै प्रकृतिको भाषिक मोडेल उपयुक्त हुँदैन भन्ने ठानेको छ ।

यस्तो अवस्थामा ब्रिटिस काउन्सिलले समय र सन्दर्भ अनुकूल तथा प्रमाणमा आधारित अवधारणालाई ध्यान दिएको छ । जसबाट स्थानीय नीति निर्माता र शिक्षासँग सम्वन्धित सरोकारवालाले आफ्नो ऐतिहासिक, आर्थिक, राजनीतिक र सामाजिक यथार्थलाई ध्यानमा राखेर शिक्षण तथा सिकाइका लागि भाषासम्बन्धी निर्णय गर्न सक्दछन् ।

ब्रिटिस काउन्सिलको यस अवधारणाको केन्द्रभागमा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीलाई राखेको छ । फलस्वरुप यस्तो शिक्षा प्रणालीले शैक्षिक संरचना र यसका विविध पक्षमा भाषालाई सिकाइको मुख्य आधारका रूपमा स्वीकार गर्न सक्दछन् । साथै, अवधारणापत्रमा नीति निर्माण, पाठ्यक्रम र पाठ्य सामाग्रीको विकास, शिक्षण पद्धति, सिकाइ सामग्री, मूल्याङ्कन विधि, शिक्षक तालिम तथा शिक्षण प्रक्रियालाई उल्लेख गरिएको छ ।

अवधारणापत्रले कुनै पनि सफल भाषा नीति निश्चित भाषालाई शिक्षण माध्यम बनाउने भन्ने सवाल मात्र नभएको यथार्थलाई महसुस गरेको छ । यसको साटो कुनै पनि दृष्टिकोणको प्रभावकारिताबाट शैक्षिक प्रणालीले सिकाइ सफल तुल्याउने वातावरण तयार पार्न सक्छ वा सक्दैन भन्ने बिषयमा निर्भर हुन्छ । खासमा शिक्षा प्रणालीले सिकाइलाई कति प्रभावकारी रूपमा सहयोग र प्रवद्र्धन गर्छ भन्ने बिषय महत्वपूर्ण हो ।

जून देश र समुदायमा अंग्रेजीलाई शिक्षण र सिकाइको भाषाको रुपमा अवलम्वन गरिएको छ, त्यहाँ अंग्रेजी भाषाको प्रयोगबाट प्रभावकारी शिक्षणलाई सुनिश्चित गर्नुका साथै विद्यार्थीलाई पाठ्यक्रम सहजै बुझ्नका लागि भाषिक दक्षता विकास गराउनु तथा उनीहरूसँग परिचित भाषा ९मातृ भाषा० को बलियो जग निर्माण गर्नु निकै आवश्यक हुन्छ ।

भाषा अनुकूलको शिक्षण र सिकाइ पद्धतिमा दक्षतायुक्त शिक्षकको व्यवस्थाका साथै सहज रूपमा उपलब्ध हुने शिक्षण सामग्री तथा भाषाको दक्षता विकासलाई ध्यानमा राखेर तयार गरिने मूल्याङ्कन प्रणाली लागू गर्नुपर्दछ ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।