काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले विद्युतीय सवारी साधनको मोटर क्षमता सम्बन्धमा स्पष्ट, व्यवहारिक र एकरूप प्राविधिक मापदण्ड आवश्यक रहेको जनाएको छ। पछिल्लो समय यस विषयमा विभिन्न माध्यममार्फत भइरहेको चर्चा र व्याख्याप्रति ध्यानाकर्षण जनाउँदै नाइमाले सम्बन्धित मन्त्रीहरूसँगको छलफलमा पनि यो विषय उठाएको जानकारी दिएको छ।
नाइमाका अनुसार नेपालमा आयात हुने इभी सवारी साधनहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण र प्रमाणीकरणका आधारमा आउने भएकाले केवल वेबसाइट वा बाह्य विवरणका आधारमा निष्कर्ष निकाल्नु विश्वसनीय हुँदैन। हाल देशमा मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड र एकीकृत कार्यविधि पूर्ण रूपमा लागू नभएकाले अन्योल उत्पन्न भएको नाइमाको भनाइ छ।
नाइमाले इभी क्षेत्र स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात विकास र हरित अर्थतन्त्र प्रवर्द्धनका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै प्राविधिक मूल्यांकन प्रमाणित तथ्य, अन्तर्राष्ट्रिय अभ्यास र आधिकारिक विवरणका आधारमा गर्नुपर्नेमा जोड दिएको छ। साथै, सरकारसँग सहकार्य गर्दै स्पष्ट र पारदर्शी प्राविधिक प्रणाली विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।










प्रतिक्रिया