काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले पौने ९ खर्ब रुपैयाँ बढी लगानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म अर्थात् साउनदेखि चैतसम्म १४ वटा जीवन बीमकले ८ खर्ब ७५ अर्ब २४ करोड ५३ लाख रुपैयाँ लगानी गरेका हुन् ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको लगानी १५.५६ प्रतिशतले लगानी बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ७ खर्ब ५७ अर्ब ३६ करोड २ लाख रुपैयाँ लगानी गरेका थिए ।
जसमा नेपाल लाइफको लगानी सर्वाधिक देखिएको छ । नेपाल लाइफले तेस्रो त्रैमाससम्म २ खर्ब ४५ अर्ब ९० करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । उक्त कम्पनीले विभिन्न क्षेत्रमा १ खर्ब २८ अर्ब ९६ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।
यता, ९ महिनाको अवधिमा हिमालयन लाइफले ८७ अर्ब ८३ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ भने नेसनल लाइफले ७८ अर्ब ४८ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन् ।
यसैगरी विभिन्न क्षेत्रमा राष्ट्रिय बीमा कम्पनीले ६६ अर्ब ३५ करोड २४ लाख रुपैयाँ लगानी गर्दा एसियन लाइफले ५१ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४६ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ, मेट लाइफले ३४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफले २८ अर्ब ९ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी, सानिमा रिलायन्स लाइफले २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २२ अर्ब ८० करोड १५ लाख रुपैयाँ, आइएमई लाइफले २० अर्ब ७१ करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २० अर्ब ४५ करोड ८८ लाख रुपैयाँ र सन् नेपाल लाइफले १६ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् ।
कुन क्षेत्रमा कति लगानी ?
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो मसान्तसम्म सबैभन्दा धेरै लगानी वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा गरेका छन् । बैंकहरुले ९ महिनाको अवधिमा उक्त क्षेत्रमा ५ खर्ब ४२ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ लगानी गरेका हुन् ।
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ६९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ, विकास बैंकहरुको मुद्दति निक्षेपमा ४५ अर्ब १६ करोड ९८ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ६ अर्ब १ करोड ३० लाख रुपैयाँ, घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् ।
यता, जीन बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गर्दा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७७ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ लगानी भएको छ ।
यसैगरी, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ९७ करोड २२ लाख रुपैयाँ, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १० अर्ब ३० करोड ९९ लाख रुपैयाँ लगानी भएको छ भने इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ३ अर्ब १८ करोड ३२ लाख रुपैयाँ लगानी गरेका छन् ।
यस्तै, अन्य संस्थापक सेयरमा १७ अर्ब १६ करोड २ लाख रुपैयाँ लगानी हुँदा सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको सेयरमा १ अर्ब ६० करोड ९६ लाख रुपैयाँ र अन्य लगानी १४ अर्ब ९० करोड ९८ लाख रुपैयाँ रहेको छ ।










प्रतिक्रिया