देशभर नयाँ सवारी दर्तामा रोक, विद्युतीय समेत प्रभावित


काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरी नयाँ सवारी साधनको दर्तामा तत्कालको लागि रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, अत्यधिक वायु प्रदूषण, सडकको चाप, आवागमनमा कठिनाइ र इन्धन मूल्य वृद्धिका कारण यातायात सञ्चालनमा समस्या देखिएकोले नयाँ दर्ता प्रक्रिया अनिश्चित समयको लागि बन्द भएको जनाएको छ। विभागका अनुसार, सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन गर्न नसक्नुले पनि नयाँ दर्ता रोक्नुपर्ने अवस्था आएको हो ।

यसमा परम्परागत इन्धनबाट चल्ने सवारी मात्र नभई विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनसमेत समावेश छन् ।

विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते सातै प्रदेशका सम्बन्धित मन्त्रालय र देशभरिका सबै स्थानीय तहलाई पत्राचार गर्दै नयाँ दर्ता प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न निर्देशन दिएका हुन्।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा ३ अनुसार सार्वजनिक हितमा कार्यालयलाई सवारी दर्ता रोक्ने अधिकार आफुसँग भएको समेत विभागको दाबी छ। ऐनले वातावरण प्रदूषण, सडकको चाप वा आवागमनमा पर्ने कठिनाइको आधारमा आवश्यक परे दर्ता रोक्न सक्ने व्यवस्था गरेको छ।

यो कदम नेपाल सरकारको नीति अनुरूप सार्वजनिक सवारी व्यवस्थापनलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले गरिएको विभागको भनाई छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।