काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि आर्थिक अवस्थाको समग्र चित्र सार्वजनिक गर्दै आर्थिक सर्वेक्षण २०८२/८३ संघीय संसदमा पेश गरेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार आगामी आर्थिक वर्षको राजस्व र व्यय अनुमान प्रस्तुत गर्नुअघि चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्नुपर्ने व्यवस्था अनुरूप उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो।
आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए।
अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको सर्वेक्षणमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ । नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ ।
अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ । जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको छ ।
अर्थमन्त्रीले संसद्मा पेस गरेको सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ।
विश्व अर्थतन्त्र ३।१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धिदरलाई सकारात्मक मानिएको छ। मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।










प्रतिक्रिया