पूँजीगत लाभकर वृद्धिको प्रभाव, बजेटपछि पहिलो दिन २६.८२ अंकले घट्यो नेप्से


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.८२ अंकले घटेर २७५५.३७ विन्दुमा पुगेको हाे।

बजेटमार्फत पूँजीबजारका लागि केही सकारात्मक व्यवस्था घोषणा गरिए पनि आर्थिक विधेयकमा पूँजीगत लाभकर बढाइएकाले लगानीकर्ताको मनोबल प्रभावित भएको बजार विश्लेषकहरूको भनाइ छ ।

बजेटले पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले बढाएर अल्पकालीनका लागि १० प्रतिशत र दीर्घकालीनका लागि साढे ७ प्रतिशत कायम गरेको थियो । त्यस्तै पूँजीगत लाभकरलाई अन्तिम भनिए पनि विधेयकले वार्षिक ४० लाखमाथिको आम्दानी गर्नेका हकमा अन्तिम नभएको आशय उल्लेख गरेको छ । जसका कारण लगानीकर्ताहरु निराश भएका हुन् ।

सोमबार कारोबारमा आएका ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयरहरू ६३ हजार ७१९ पटक किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

गत बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँ पुगेको थियो ।
सोमबारको कारोबारमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमबारको कारोबारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको शीर्ष ५ मा कालिन्चोक हाइड्रोपावर, सिटिजन बैंक डेभेन्चर, सेन्टरल फाइन्यान्स र सिभिल बैंक डेभेन्चर रहेका छन् ।

यता, बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १३.२० प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बिशालबजार कम्पनी, एनआइबीएल समृद्धि फण्ड र नेपाल रिपब्लिक मिडिया शीर्ष ५ मा रहेका छन् ।

सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा आँखुखोला हाइड्रोपावर रहेको छ । आँखुखोला हाइड्रोपावरको सेयर ४३ करोड ४ लाख ५१ हजार रुपैयाँको कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको ३७ करोड १३ लाख ५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । हिमालयन रिइन्स्योरेन्सको २५ करोड ७७ लाख ३८ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, रिडी पावर कम्पनीको १७ करोड ८२ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेश्नल हाइड्रोपावरको १६ करोड ५८ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।