प्रभु बैंकद्वारा अन्नपूर्ण माविलाई स्मार्ट बोर्ड हस्तान्तरण


काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत गोरखास्थित अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा उक्त सहयोग प्रदान गरिएको हो।

विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराइएको बैंकले जनाएको छ। यसबाट डिजिटल शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकका अनुसार डिजिटल रूपान्तरणको वर्तमान युगमा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै दक्ष, सक्षम र प्रतिस्पर्धी जनशक्ति निर्माणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछन्।

प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवर्द्धनसँगै डिजिटल पहुँच विस्तारमा समेत योगदान पुग्ने विश्वास बैंकको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बैंकको सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण टेवा पुग्ने बताएका थिए।

प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  ०८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।