प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह


काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर ९प्यान० र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकले जारी गरेको सूचनाअनुसार ग्राहकको खाताबाट कट्टा भएको करको विवरण ‘आयकर ऐन, २०५८’ बमोजिम आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक गर्न अनुरोध गरिएको हो।

ग्राहकहरूले बैंकको अनलाइन पोर्टल तथा मोबाइल बैंकिङ एपमार्फत ‘प्यान अपडेट’ विकल्प प्रयोग गरी आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार निक्षेपकर्ताको ब्याज आयमा कट्टा भएको करलाई आन्तरिक राजस्व विभागको प्रणालीमा अभिलेखीकरण गर्न प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सम्बन्धित प्यान नम्बरमा स्वतः प्रविष्ट हुने र कर प्रणालीले अनुसूची–१० मा विवरण मिलान गर्नेछ।

यस व्यवस्थाले ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ। साथै, प्यान अद्यावधिक नगरेका कारण कर विवरण सम्बन्धित प्रणालीमा समावेश नभएको अवस्थामा त्यसबाट उत्पन्न हुने समस्याप्रति बैंक जिम्मेवार नहुने जनाएको छ।

बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपमार्फत ‘चेन्ज ईमेल अप्सन’ प्रयोग गरी ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयमार्फत पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ।

यसअघि प्यान उपलब्ध गराइसकेका तर करकट्टी विवरण समावेश नभएका वा ईमेल ठेगाना अद्यावधिक नभएका ग्राहकहरूले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमार्फत आवश्यक सहयोग लिन सक्ने बैंकले जनाएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १४ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।