काठमाडौँ । नेपाली रेमिटेन्स सेवाको अग्रणी कम्पनी आइएमई लिमिटेडले आफ्नो स्थापनाको २६ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स तथा वित्तीय सेवालाई थप सुरक्षित, सहज र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर डिजिटल नवप्रवर्तनमार्फत एकीकृत वित्तीय सेवा विस्तार गरिने बताए। उनले आइएमईले देशका दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
त्यसैगरी, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आइएमई’ भन्ने पहिचान स्थापित हुनु गौरवको विषय भएको बताए। उनले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चितिमा योगदान पुर्याउने तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सरकारसँग सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले कृत्रिम बौद्धिकता तथा आधुनिक प्रविधिको प्रयोगमार्फत आगामी दिनमा वित्तीय सेवालाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो बनाउने जनाएको छ।










प्रतिक्रिया