सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, २ अर्बको प्रिफरेन्स शेयर जारी गर्ने निर्णय


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आठौँ विशेष साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर (प्रिफरेन्स शेयर) जारी गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले प्राथमिक पुँजीकोष अनुपात सुदृढ गर्न, व्यवसाय विस्तार गर्न तथा जोखिम बहन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रिफरेन्स शेयर जारी गर्ने निर्णय गरेको जनाएको छ।

सभाबाट संस्थापक शेयरधनी समूहबाट अनिलकुमार ज्ञवाली तथा सर्वसाधारण शेयरधनी समूहबाट प्रकाशचन्द्र मैनाली, डा। राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा निर्वाचित भएका छन्।

बैंकका अनुसार नवनिर्वाचित सञ्चालकहरू बैंकिङ, अर्थतन्त्र, विकास व्यवस्थापन तथा संस्थागत नेतृत्वका क्षेत्रमा लामो अनुभव र विशेषज्ञता भएका व्यक्तित्व हुन्।

सिटिजन्स बैंकले हाल देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।