शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा दुई खेलाडी विभूषित


काठमाडौँ । शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनले ‘खेलकुद पुरस्कार २०२६/खेलकुद सम्मान’ भव्यताका साथ सम्पन्न गरेको छ ।

काठमाडौँमा आयोजित समारोहमा नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पु¥याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गरेको हो ।

खेलकुद क्षेत्रमा पुरानो र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले दुई चर्चित खेल व्यक्तित्वहरूलाई जनही नगद रुपैयाँ २ लाख ५० हजार र कदरपत्रद्वारा विभूषित गरिएको हो ।

यस वर्षको ‘खेलकुद पुरस्कार २०२६’ नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्केलाई प्रदान गरिएको छ । उनले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए ।

सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि नेपालमा बक्सिङ खेलको प्रवद्र्धनमा आजीवन योगदान दिएका मास्केले ‘न्यू राइजिङ स्पोट्र्स क्लब’ को स्थापना गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली बक्सिङ टोलीको म्यानेजर र संयोजकको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९८८ देखि १९९२ सम्म कोषाध्यक्ष र सन् १९९५ देखि २००० सम्म नेपाल बक्सिङ संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै बक्सिङ खेलको विकासमा पु¥याएको उच्च योगदानको कदर गर्दै उनलाई सम्मान प्रदान गरिएको हो ।

त्यसैगरी, अर्को ‘खेलकुद पुरस्कार २०२६’ नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेलाई प्रदान गरिएको छ । लामिछाने हाल देशबाहिर रहेकाले काठमाडौँ जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय टोलीका खेलाडी किरण श.ज.ब. राणाले उक्त सम्मान ग्रहण गरेका थिए । समारोहमा भिडियो सन्देशमार्फत सन्दीपले यस्तो प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै खुसी लागेको व्यक्त गरेका थिए ।

नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रूपमा प्रख्यात स्वर्गीय शरदचन्द्र शाहको सम्झनामा उनका परिवारजनहरूद्वारा सन् २०२० नोभेम्बर ३० मा यस फाउण्डेसनको स्थापना गरिएको थियो । स्व. शाह एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति थिए ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार  ०८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।