काठमाडौँ । भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)का कारण निर्यातमा असहज भएपछि बन्द भएका इलाम र झापाका चिया उद्योग पुनः सञ्चालनमा आएका छन् । सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर निर्यात आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका हुन् ।
चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा चिया उद्योगीबीच भएको छलफलपछि उद्योग सञ्चालन गर्ने विषयमा तीन बुँदे सहमति भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले बताए ।
‘भारतीय बजारमा चिया निर्यात सहज नभएसम्म उद्योगमा थन्किएको करिब १० लाख किलोग्राम चिया भण्डारणका लागि व्यवस्थित भण्डारको व्यवस्था गरिने समझदारी भएकाे छ ।’ उनले भने, ‘सााथै, बजार अवस्था सहज नभएसम्म किसानलाई दिने भुक्तानी केही समयका लागि नदिने सहमति उद्योगी र किसानबीच भएको हो ।’
उनका अनुसार, चियाको गुणस्तर सुधार गर्न विषादीको प्रयोग पूर्ण रूपमा निषेध गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति समेत भएको छ ।
उद्योगमा आएको समस्या समाधान गर्न कार्यदल गठन गरी आश्वासन दिएपछि उद्योग खुल्ने सहमती भएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले बताए ।
‘बिहीबारदेखि झापा र इलामका सबै उद्योगहरू पुनः सञ्चालनमा आएको छ’ उनले भने ।
गत बैशाख १८ गतेदेखि नयाँ एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षण प्रतिवेदनको व्यवस्था गरेपछि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा रोकिएको थियो ।
पहिलो चरणमा भातरले नेपालबाट भारत छिर्ने चियाको प्रत्येक ट्रक र प्रत्येक पटकको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरेको थियो । पहिले एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई मान्यता दिने गरिएकोमा पछिल्लो नियमले ट्रकपिच्छे ११ हजार १२० भारु शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो प्रावधान राखिएको थियो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षणको व्यवस्थालाई फिर्ता लिएपछि करिब दुई साता पछि जेठ ६ गतेदेखि नेपाली चियाको निकासी पुनः सहज भएको थियो ।
निर्यातमा केही खुकुलो बनाएको भनिएता पनि आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमुना संकलन गर्न थालेपछि भारतीय आयातकर्ताले चिया आयातको लागि फाराम भर्न नै छाडेका थिए ।
आधा दर्जनभन्दा बढी ट्रकको नमुना संकलन गरिएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन नआउँदा बिक्री ठप्प भएको थियो ।
यद्यपि निर्यातको अधिकांश हिस्सा भारतमै केन्द्रित भएकाले भारतीय बजारमा देखिएको अवरोधले नेपाली चिया उद्योगलाई प्रत्यक्ष असर गरेको थियो । लामो समय गोदाममा थन्किँदा चियाको स्वाद र गुणस्तर ह्रास हुने जोखिम उच्च रहेकोले चिया उद्योगीहरुले उद्योग नै बन्द गरेका थिए ।










प्रतिक्रिया