धान दिवस मनाइँदै : धान चामल आयात भने अर्बौँमा, खेतीयोग्य क्षेत्रफल घट्दो


काठमाडौँ । सरकारले वि.सं. २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आए पनि नेपालमा धान तथा चामलको आयात भने उच्च नै रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामै मुलुकले ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको हो ।

यसरी सरकारले प्रत्येक वर्ष धान दिवस मनाइरहँदा एकातिर धान आयातमा गिरावट आउन सकेको छैन भने अर्काेतिर धान खेती हुने क्षेत्रफल पनि लगातार घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । वर्षेनी खेतीयोग्य जमिन घट्दा आयातमा गिरावट आउन सकेको छैन ।

सरकारले मुलुक कृषिप्रधान भएको भन्दै गर्भका साथ धान दिवस मनाइरहँदा वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न (धान, चामल, गहुँ, कोदो, गहुँ) आयात हुने गरेको छ । कृषि क्षेत्रलाई स्थानीय तथा संघीय सरकारले प्रोत्साहन गर्न नसक्दा, आधुनिकीकरण, यान्त्रीकीकरण गर्न नसक्दा यस्ता खाद्यबालीको आयातमा वृद्धि भएको सरोकारवालाहरु बताउँछन् ।

यसका साथै खेतीयोग्य जमिन बाँझो रहने, कृषि भूमि प्लटिङ हुने, सिँचाइ र मलको अभाव, उत्पादन लागत बढ्नु, दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुनु तथा उपभोग शैली परिवर्तन हुनुले धान चामल आयातमा निर्भरता बढ्दै गएको सरोकारवालाको भनाइ छ ।

धान चामल आयातको ५ वर्षे तथ्यांक

चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा मुलुकमा करिब ३८ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ ।

विभागको तथ्यांक अनुसार ११ महिनामा ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७१ करोड १५ लाख २० हजार किलोग्राम धान चामल आयात भएको छ । उक्त परिणामको धान चामल आयातबाट २ अर्ब ६१ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ बराबरको ७७ करोड ५२ लाख ६८ हजार किलोग्राम धान चामल आयात भएको थियो । सो परिमाणको धान चामल आयात गर्दा ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २२ अर्ब २३ करोड ९ लाख रुपैयाँ बराबरको ४० करोड ९८ लाख ४२ हजार किलोग्राम आयात भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ३६ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ बराबरको ७९ करोड १७ लाख ३१ हजार किलोग्राम र आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बराबरको १ अर्ब १३ करोड ५ लाख १६ हजार किलोग्राम धान चामल आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

मुलुकमा धान उत्पादनको ५ वर्षे तथ्यांक

कृषि विभागका अनुसार विगत पाँच वर्षको तथ्यांक अनुसार धान उत्पादन हुने क्षेत्रफल क्रमशः घट्दै गएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको छ । सो क्षेत्रबाट ५७ लाख ५ हजार १२६ मेट्रिक टक धान उत्पादन भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । सो क्षेत्रबाट ५९ लाख ५५ हजार ४७६ मेट्रिक टक धान उत्पादन भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रमा धान लगाउँदा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै उत्पादन भएको थियो ।

तथ्यांकअनुसार धान खेती हुने क्षेत्रफल निरन्तर घट्दै गए पनि उत्पादनमा भने वर्षअनुसार केही उतारचढाव देखिएको छ । यसले उत्पादकत्वमा केही सुधार भए पनि खेतीयोग्य क्षेत्र घट्ने प्रवृत्ति अझै कायम रहेको संकेत गर्छ ।

कृषि क्षेत्रका जानकारहरूका अनुसार कृषि उत्पादन बढाउन समयमै मल र बीउको उपलब्धता, सिँचाइ सुविधा विस्तार, कृषि यान्त्रीकरण, किसानलाई अनुदान तथा बजारको सुनिश्चितता आवश्यक छ । यस्ता नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके खाद्यान्न आयातमा निर्भरता घटाउन सकिने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।