काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ।
काठमाडौंस्थित धनवन्तरी फुटसल मैदानमा आयोजित प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका १५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। प्रतियोगितामा पुरुषतर्फ प्रदेश तथा केन्द्रीय कार्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो भने व्यवस्थापन टोली र महिला टोलीबीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार प्रतियोगिताले कर्मचारीबीच आपसी समन्वय, सहकार्य, टोली भावना तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीसहित उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो। समापन समारोहमा विजेता तथा सहभागी टोलीलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै बैंकका नेतृत्वले यस्ता गतिविधिले कर्मचारीबीच सहकार्य र संस्थागत संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।
नेपाल एसबिआई बैंकले हाल देशभर १०३ शाखा, २२ विस्तारित काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा ७ प्रादेशिक कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।










प्रतिक्रिया