वैदेशिक रोजगार

ई–७ भिसामार्फत श्रमिक पठाउने बाटाे खुला


काठमाडौँ । दक्षिण कोरियामा म्यनपावरमार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ ।

उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि सरकारी निर्णयका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले रोकेको ई–७ भिसाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

मन्त्रालयले २०८२ भदौ २९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशन बमोजिम ई ७ भिसा रोक्का गरेको थियो
मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले हालै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियाको ई–७ भिसामा जाने नेपाली सिपयुक्त श्रमिकका कागजात प्रमाणीकरण लगायत आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

महाशाखाले पठाएको पत्रमा मन्त्रालयको १५ असारको निर्णयअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको उल्लेख छ ।

उक्त पत्रमा यसअघि मन्त्रालयबाट निर्देशन माग गरिएको विषय, नेपालस्थित गणतन्त्र कोरियाको दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनले विभिन्न समयमा जारी गरेका आदेशहरूको आधारमा ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

मन्त्रालयको निर्णयसँगै आवश्यक मापदण्ड पूरा गरेका वैदेशिक रोजगार व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरी कोरियाको ई–७ भिसामा नेपाली सिपयुक्त श्रमिक पठाउन सक्ने छन् ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।