काठमाडौँ । यस वर्ष हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ ले गरेको छ ।
चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको हिजो आइतबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
बक्स अफिसले चलचित्र लाली बजार, रोल नं. १, आइएम जित बहादुर र जाँडको कारोबार विवरण सार्वजनिक गरेको हो ।
असार २१ गते मध्यरातसम्मको विवरण हेर्दा सबैभन्दा धेरै चलचित्र ‘लालीबजार’ ले कमाएको छ । चलचित्र लालीबजारले हालसम्म ३ लाख १७ हजार १२ टिकट बिक्री गर्दै ९ करोड ३२ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको छ ।
बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको सो चलचित्रले प्रदर्शनरत अन्य चलचित्रहरुले भन्दा धेरै कमाई गरेको छ । प्रदर्शनमा आएको लामो समय बितिसक्दा पनि दर्शकहरुको पहिलो रोजाईमा चलचित्र लाली बजार नै रहेको बोर्डको तथ्यांकले प्रष्ट पारेको छ । उक्त चलचित्र यम थापाको निर्देशनमा तयार भएको हो ।
त्यसैगरी, जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र रोल नं. १ ले ६९ हजार १६६ वटा टिकट बिक्री गर्दै १ करोड ७४ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ । विनोद पौडेलको निर्माण रहेको उक्त चलचित्र जोन योञ्जनले निर्देशन गरेका हुन् ।
चलचित्र आइएम जित बहादुरले हालसम्म ९ हजार ७४२ वटा टिकटबाट ३१ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ । असार ५ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्र अभिनेता जितु नेपालको निर्माणमा तयार भएको हो ।
असार १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र जाँडले हालसम्म ५६९ वटा टिकटबाट १ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त चलचित्र राजु शाहको निर्देशनमा तयार भएको हो ।










प्रतिक्रिया