असारको तीन साता बित्दा देशभर ३२ प्रतिशत मात्र धान रोपाइँ


काठमाडौँ । यस वर्ष असारको तीन साता बितिसक्दा पनि देशभरि धान रोपाइँले गति लिन सकेको छैन । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।

नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको हो ।

गत वर्ष यही अवधिमा देशभरि ४५ प्रतिशत रोपाइँ भइसकेको थियो । प्रदेशगत तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँको अवस्था अलि बढी देखिएको छ ।

हालसम्म सुदूरपश्चिममा ८९ हजार ७४२ हेक्टरमा रोपाइँ सकिएको छ । जुन कुल क्षेत्रफलको ५७.९ प्रतिशत हो । सुदुरपश्चिममा कुल १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ । गत वर्ष भने यसै अवधिमा ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो ।

त्यस्तै, गण्डकी प्रदेशमा ९३ हजार ६६ हेक्टरमध्ये ३८ हजार ३८९ हेक्टरमा धान रोपिएको छ । गण्डकीमा हालसम्म ४१ प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशतमा मात्र रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा धान खेती हुने ४३ हजार २९० हेक्टरमध्ये १७ हजार ५४९ हेक्टर अर्थात् ४०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो ।

बागमती प्रदेशमा पनि गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यस वर्ष ३३.२ प्रतिशत मात्र रोपाइँ भएको छ । बागमतीमा कुल १ लाख १४ हजार ५२४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा रोपाइँ सकिएको छ ।

धान उत्पादनको मुख्य केन्द्र मानिने मधेश प्रदेशको अवस्था भने यस वर्ष पनि निराशाजनक छ। देशमै सबैभन्दा धेरै अर्थात् ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा असार तेस्रो सातासम्म ६० हजार ३४६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको छ । यो कुल क्षेत्रफलको जम्मा १५.६ प्रतिशत मात्र हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा न्यून हो । गत वर्ष यसै अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो ।

तथ्यांकअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टरमा मात्र धान रोपाई भएकोस छ । जुन ३१.५ प्रतिशत हो । गत वर्ष २९.५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार  १७ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।