वाणिज्य बैंकहरुले कमाए गत वर्षको भन्दा १९.६२ प्रतिशत बढी नाफा, कर्जा नोक्सानी व्यवस्थातर्फ कसले कति छुट्याए ?


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले साढे ६४ अर्ब मुनाफा कमाएको छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोहि अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १४ बैंकहरुले नाफा बढाएका छन् भने ६ बैंकको नाफा घटेको छ ।

यसअवधिमा नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले पछिल्लो ११ महिनामा नाफा ३२.५२ प्रतिशतले बढाएर ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा ०.९६ प्रतिशतले घटेर ५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडी देखिएका छन् । कुमारीको नाफा ४ अर्ब ७० करोड पुगेको छ भने राष्ट्रिय वाणिज्यको ६८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो ।

जेठ मसान्तसम्मको अवधिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड, एभरेष्ट बैंकको २ प्रतिशतले घटेर ४ अर्ब १२ करोड, प्राइम बैंकको २९ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, एनएमबि बैंकको १९.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड, नेपाल बैंकको ८ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा भने सबैभन्दा कम रहेको छ । यी दुई बैंकको नाफा क्रमशः १ अर्ब १६ करोड ४३ लाख र ५० करोड ७७ लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको समग्र विवरणअनुसार वाणिज्य बैंकहरूको कर्जा नोक्सानी व्यवस्था वैशाखको ७२ अर्ब ८३ करोड २० लाख रुपैयाँबाट जेठमा ४.११ प्रतिशत बढेको छ । विशेष कर्जा नोक्सानी व्यवस्था मात्रै ५३ अर्ब ४२ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसले बैंकहरूको नाफा बढे पनि त्यसको ठूलो हिस्सा सम्भावित कर्जा जोखिम व्यवस्थापनमै खर्च भइरहेको देखाउँछ ।

कर्जा नोक्सानी व्यवस्थातर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै १२ अर्ब ५१ करोड ९ लाख रुपैयाँ छुट्याएको छ । कुमारी बैंकले १० अर्ब १९ करोड २ लाख रकम कर्जा नोक्सानी व्यवस्थापनतर्फ छुट्याएको छ भने लक्ष्मी सनराइज बैंकले ६ अर्ब २३ करोड ९ लाख छुट्याएको छ ।

यता, राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ३६ करोड ६६ लाख र कृषि विकास बैंकले ५ अर्ब १३ करोड ८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेका छन् ।

एनएमबि बैंकको कर्जा नोक्सानी व्यवस्था ४ अर्ब ९४ करोड ३६ लाख, नेपाल बैंकको ४ अर्ब ९२ करोड ३२ लाख, एनआईसी एशियाको ४ अर्ब ६३ करोड, प्रभु बैंकको ४ अर्ब १५ करोड २८ लाख र ग्लोबल आइएमईको ३ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ छ ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।