काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पहिलोपटक विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै कतारको दोहामा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’ सम्पन्न गरेको छ।
‘विदेशमा कमाऔँ, नेपालमा सम्पत्ति बनाऔँ’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा वैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न १४० भन्दा बढी नेपालीको सहभागिता रहेको क्यापिटलले जनाएको छ।
कार्यक्रममा डायस्पोरा खाता, एसआईपी, आईपीओ, डिम्याट तथा मेरोसेयर, नेपालका पुँजी बजारमा सम्पत्ति व्यवस्थापन, नेपालमा उपलब्ध लगानीका अवसर तथा विदेशमा रहेका नेपालीले नेपालमा लगानी गर्ने प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो। साथै वैदेशिक आम्दानीलाई वैधानिक माध्यमबाट नेपाल भित्र्याउने, प्राथमिक शेयरमा आवेदन दिने प्रक्रिया तथा दोस्रो बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयमा समेत अन्तरक्रिया गरिएको थियो।
एनआईसी एशिया क्यापिटलले विदेशमा रहेका नेपालीको वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्दै उनीहरूलाई नेपालको लगानी अवसरसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।










प्रतिक्रिया