सेयर बजार चलायमान बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह


काठमाडौँ । स्थिर सरकार रहँदा पनि सेयर बजार निरन्तर ओरालो लागेपछि पुँजी बजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवालाले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेका छन् । करिब डेढ घण्टा भएको भेटमा पुँजीबजारको दिगो विकास, लगानीकर्ता संरक्षण तथा बजारको तरलता अभिवृद्धिका लागि सरकारले आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने माग अघि सारेका थिए ।

सरोकारवालाले प्रधानमन्त्रीसँगको छलफलमा प्राथमिक निष्कासनदेखि दोस्रो बजारसम्मका व्यवस्था परिमार्जन, संस्थागत लगानीकर्ता विस्तार, कर सुधार तथा विदेशी लगानी आकर्षित गर्ने उपायहरू समेत व्यवस्था गर्नुपर्ने उल्लेख गरेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए ।

“सरकार लगानीकर्ताको पक्षमा हो । तपाईंहरू ढुक्क भएर लगानी गर्नुहोस् । सरकारले निजी क्षेत्रलाई सहयोग नै गर्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ढकालले भने, “छलफल सकारात्मक रह्यो ।”

“बजारमा तरलता बढाउन इन्ट्रा–डे कारोबार, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा सेक्युरिटिज नेट सेटलमेन्ट प्रणाली कार्यान्वयन गरी सर्ट सेल कारोबारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा हामीले उहाँसँग माग गर्‍यौँ,” उनले भने ।

ढकालका अनुसार, टोलीले योग्य संस्थागत लगानीकर्तालाई प्राथमिक निष्कासनमा ४० प्रतिशतसम्म हिस्सा छुट्याउने, बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा दोस्रो बजारमा मूल्य निर्धारण (प्राइस डिस्कभरी) प्रणालीलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउनुपर्ने लगायतका माग प्रधानमन्त्रीसँग राखेका थिए । साथै सूचीकृत कम्पनीका प्रवर्द्धक तथा संस्थापक सेयरको कारोबारसम्बन्धी व्यवस्थामा पनि सुधार आवश्यक रहेको औँल्याइएको छ ।

संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउने विषयमा पनि छलफल भएको थियो । नेपाल स्टक एक्सचेञ्जको रणनीतिक साझेदारसहित पुनर्संरचना गर्नुपर्ने आवश्यकता पनि प्रधानमन्त्रीसँगको भेटमा छलफल भएको उनले जानकारी दिए ।

सरकारलाई पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा पुनर्विचार गर्न पनि उनीहरूले आग्रह गरेका थिए । हालको कर संरचनाले बजारमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै नाफा–नोक्सान समायोजनपछि वास्तविक नाफामा मात्र कर लगाउने व्यवस्था गर्नुपर्ने टोलीको सुझाव थियो ।

करिब डेढ घण्टाको छलफलमा प्रधानमन्त्री शाहले बजार चलायमान बनाउनको लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । निजी क्षेत्रलाई विश्वासमा लिएर जाने र लगानी सहज बनाउने बताएका ढकालले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाललगायत सहभागी थिए ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।