दक्षिण एसियाको इन्टरनेट पूर्वाधार सुदृढ गर्न एपीएनआईसी र सानोगबीच साझेदारी


काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा प्राविधिक क्षमता अभिवृद्धि, सामुदायिक सहकार्य र इन्टरनेट पूर्वाधारको विकास गर्ने उद्देश्यले एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपीएनआईसी) र साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुप (सानोग)बीच समझदारी भएको छ।

काठमाडौंमा सम्पन्न समझदारीपत्रमा एपीएनआईसीका महानिर्देशक जिया रोङ लो र सानोगका अध्यक्ष रूपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस समझदारीले विश्वव्यापी, खुला, स्थिर र सुरक्षित इन्टरनेटको साझा अवधारणामा आधारित सहकार्यको औपचारिक ढाँचा तयार गरेको छ।

समझदारीअनुसार एपीएनआईसी र सानोगले दक्षिण एसियाभरका नेटवर्क इन्जिनियर तथा अपरेटरहरूका लागि संयुक्त प्राविधिक तालिम र क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन्। यी कार्यक्रममार्फत क्षेत्रीय नेटवर्कको सुरक्षा, विश्वसनीयता र सञ्चालन सहजतालाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।

सहकार्यअन्तर्गत इन्टरनेट प्रोटोकल भर्सन–६ (आईपीभी–६), रिसोर्स पब्लिक की इन्फ्रास्ट्रक्चर (आरपीकेआई) र रुट ओरिजिन भ्यालिडेसन (आरओभी)लगायत महत्वपूर्ण इन्टरनेट पूर्वाधार प्रविधिको प्रयोगलाई तीव्र बनाउन विशेष जोड दिइनेछ। यी प्रविधिको प्रभावकारी कार्यान्वयनबाट नेटवर्क सुरक्षा मजबुत हुनुका साथै इन्टरनेट मार्गसम्बन्धी त्रुटि र सम्भावित दुरुपयोग न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दक्षिण एसियाली प्राविधिक समुदायबीच ज्ञान र अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउन सानोगका सम्मेलनसँगै एपीएनआईसीका उपक्षेत्रीय मञ्चहरू आयोजना गर्ने योजना पनि बनाइएको छ। दुवै संस्थाले एकअर्काका कार्यक्रममा पाँच जनासम्म प्रतिनिधिलाई निमन्त्रणा तथा निःशुल्क दर्ताको सुविधा उपलब्ध गराउनेछन्।

यस रणनीतिक साझेदारीले दक्षिण एसियाली मुलुकहरूको सक्रिय सहभागिता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। समझदारीअन्तर्गत सानोगले एपीएनआईसीको नीति निर्माण प्रक्रिया र सामुदायिक पहलमा स्थानीय तथा क्षेत्रीय सहभागिता बढाउन भूमिका निर्वाह गर्नेछ। एपीएनआईसीले भने सानोगका कार्यशाला, सम्मेलन तथा अन्य प्राविधिक कार्यक्रमको स्तरवृद्धिका लागि दक्ष प्रशिक्षक र विषयविज्ञ वक्ताहरू उपलब्ध गराउनेछ।

लक्षित समुदाय, प्राविधिक विषयवस्तु र क्षेत्रीय प्राथमिकताका हिसाबले दुवै संस्थाका उद्देश्य समान रहेकाले यो सहकार्य दक्षिण एसियाको डिजिटल पूर्वाधार विकासका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ। औपचारिक समझदारीमार्फत दुवै संस्थाले क्षेत्रीय प्राविधिक समुदायलाई आपसमा जोड्ने, विश्वव्यापी इन्टरनेट गभर्नेन्समा दक्षिण एसियाली सहभागिता बढाउने र सबल एवं सुरक्षित डिजिटल पूर्वाधारको दिगो विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखेका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।