आईपीओ निष्काशन गर्दै हिमाल डेन्टल अस्पताल, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


काठमाडौँ । हिमाल डेन्टल अस्पताल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा दुवै संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल अस्पतालले दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालले रुट क्यानल उपचार, ओरल सर्जरी, रेडियोलोजी, अर्थोडोन्टिक्स, पेडोडोन्टिक्सलगायतका सेवा सञ्चालन गर्दै आएको जनाएको छ । साथै अत्याधुनिक उपकरण तथा प्रविधिमार्फत सेवा विस्तार गर्दै आएको पनि कम्पनीले उल्लेख गरेको छ ।

अस्पतालसँगै सञ्चालित हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्सले दन्त स्वास्थ्य शिक्षामा प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । संस्थाले हाल विभिन्न डेन्टल सम्बन्धी तालिम सञ्चालन गरिरहेको तथा निकट भविष्यमा ब्याचलर इन डेन्टल सर्जरी (बीडीएस) र ब्याचलर इन डेन्टल हाइजिन (बीडीएच) कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

संस्थाले दन्त स्वास्थ्य सेवा विस्तारसँगै समुदायस्तरमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आईपीओ निष्कासनपछि संस्थागत क्षमता विस्तार गर्दै दन्त स्वास्थ्य सेवा र शिक्षामा थप लगानी गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।