काठमाडौँ । पछिल्लो समय पश्चिमी मुलुकहरुमा नेपाली छुर्पीको माग बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष मुलुकबाट करिब ५ अर्बको छुर्पी विभिन्न मुलुकतर्फ निर्यात भएको हो । यसरी माग बढेपछि पूर्वीपहाडी जिल्लाका दुध उत्पादक किसानहरु लाभान्वित बनेका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट विभिन्न मुलुकमा ४ अर्ब ८१ करोड २८ लाख रुपैयाँ बराबरको २९ लाख ९३ हजार किलोग्राम छुर्पी निर्यात भएको हो ।
विभिन्न मुलुकमा नेपाली छुर्पी ‘डग च्यू’ का नाममा निकासी हुने गरेको छ । विदेशबाट छुर्पीको माग अत्याधिक बढेपछि कोशी प्रदेशका पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी कुकुर बिरालोको खाजाको रुपमा अमेरिका, क्यानडा, युरोप, जापान, कोरिया लगायतको देशमा निकासी हुँदै आएको छ ।
पश्चिमी मुलुकमा कुकर पाल्नेहरुले कुकुरलाई हड्डी वा अन्य कृतिम वस्तुको सट्टामा फ्याट बिनाको छुर्पी दिने गर्छन् । हड्डी टोक्दा कुकुरलाई मुखमा घाउ हुने र विभिन्न समस्या हुने पशुस्वास्थ्यकर्मीको सुझावमा उनीहरुले कुकुरको दाँतको कसरत र स्वास्थ्यकर डाइटका नाममा छुर्पी खुवाउने बताइन्छ । चपाउन मिल्ने साथै कुकुरले खाजाको रुपमा पनि खाने भएकाले नेपालको छुर्पी ‘डग च्यू’ को नाममा माग हुने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ ।
गाउँको परम्परागत उत्पादनबाट शुरू भएको छुर्पीको यात्रा अहिले विश्व बजारमा नेपालको विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण निर्यात वस्तुका रूपमा स्थापित हुँदै गएको छ ।
विदेशी बजारमा नेपाली छुर्पीको माग उच्च भए पनि आवश्यक गुणस्तर प्रमाणीकरण (स्ट्यान्डर्ड सर्टिफिकेसन) प्रणालीको अभावका कारण निर्यात अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । व्यवसायीहरूले सरकारले आवश्यक सहजीकरण र सहुलियत उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।
नेपाली छुर्पीको माग विश्व बजारमा, विशेषगरी अमेरिका र युरोपमा तीव्र गतिमा बढेपछि यसलाई नेपालको प्रमुख निर्यातयोग्य वस्तुको रूपमा विकास गर्न सरकारले नयाँ रणनीति अघि सारेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै ‘छुर्पी निर्यातः राष्ट्रिय रणनीतिक कार्ययोजना (२०८३–२०८८)’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यसले छुर्पीको इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई सुक्ष्म रूपमा विश्लेषण गर्दै आगामी ५ वर्षमा निर्यातलाई अझ उचाइमा पु¥याउने लक्ष्य राखेको छ ।
उक्त योजनामा उच्च निर्यात सम्भावना भएका छुर्पी, अदुवा र गलैँचालाई विशेष प्राथमिकतामा राखिएको छ । सरकारले हाल वार्षिक ४ अर्ब रुपैयाँ रहेको नेपाली छुर्पीको निर्यात आगामी पाँच वर्षभित्र १५ अर्ब रुपैयाँको हाराहारीमा पु¥याउने लक्ष्यसहित नयाँ रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।
कार्ययोजनामा निजी क्षेत्र, सहकारी संस्था, किसान र स्थानीय तहको सहभागितामा उत्पादन वृद्धि, गुणस्तर प्रमाणीकरण, प्रशोधन प्रविधिको आधुनिकीकरण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्य राखिएको छ ।
३० मुलुकमा नेपाली छुर्पी निर्यात, प्रमुख बजार अमेरिका
नेपालबाट अमेरिका, क्यानडा, बेलायत, जापान, दक्षिण कोरिया, यूएई, हङकङ, मलेसिया, न्यूजिल्याण्ड, नेदरल्याण्ड, ग्रीस, ब्राजिल, ताइवान, थाइल्याण्ड लगायत ३० देशहरूमा कुकुरको खानाको लागि छुर्पी निर्यात भएको छ । यी विभिन्न ३० देशमा छुर्पी निर्यात भई रहँदा विशेषगरी अमेरिकाबाट बढी माग हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष नेपालबाट निर्यात भएको कुल छुर्पीमध्ये ७५.६६ प्रतिशत अमेरिकातर्फ निर्यात भएको छ । गत वर्ष मुलुकबाट अमेरिकातर्फ ४ अर्ब १८ करोड ८६ लाख रुपैयाँ बराबरको २२ लाख ६४ हजार किलोग्राम छुर्पी निर्यात भएको छ ।
त्यसैगरी, अमेरिका पछि क्यानडा नेपाली छुर्पीको दोस्रो ठूलो बजार बनेको छ । नेपालबाट एक वर्षमा क्यानडातर्फ ३१ करोड ५८ लाख रुपैयाँ बराबरको ३ लाख ५३ हजार २२८ किलो छुर्पी निर्यात भएको छ ।
यस्तै, समिक्षा अवधीमा तेस्रो स्थानमा रहेको यूकेतर्फ ११ करोड ६९ लाख रुपैयाँ बराबरको ७९ हजार ६६० किलो छुर्पी निर्यात भएको छ । जापानतर्फ ८ करोड ३१ लाख रुपैयाँको १ लाख २२ हजार ९१६ किलोग्राम छुर्पी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी, गत वर्ष मुलुकबाट साउथ कोरियातर्फ २ करोड रुपैयाँ, डेनमार्कतर्फ १ करोड ९९ लाख रुपैयाँ, हङकङतर्फ १ करोड १२ लाख रुपैयाँ, मलेसियातर्फ १ करोड ४ लाख रुपैयाँ, यूएईतर्फ ८१ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ ।
सो अवधीमा नेपालबाट सबैभन्दा कम छुर्पी निर्यात म्यानमारमा भएको छ । एक वर्षको अवधीमा म्यानमारतर्फ ६ हजार रुपैयाँ बराबरको ९ किलो छुर्पी निर्यात भएको छ । जुन नेपालबाट निर्यात भएको परिणममा सबैभन्दा कम हो ।
छुर्पी निर्यातको पाँच वर्षे तथ्यांक
मुलुकले पछिल्लो पाँच वर्षमा छुर्पी निर्यातबाट १८ अर्ब बढी आम्दानी गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ५ वर्षको अवधीमा १८ अर्ब ८३ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ८० हजार किलोग्राम छुर्पी निर्यात भएको हो ।
गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ८१ करोड २८ लाख रुपैयाँ बराबरको २९ लाख ९३ हजार २९६ किलोग्राम छुर्पी निर्यात भएको थियो ।
त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँको २६ लाख १० हजार किलोग्राम निर्यात भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम, आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँको १७ लाख ८६ हजार ११२ किलोग्राम र आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको १७ लाख ४४ लाख ४५१ किलोग्राम छुर्पी निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया