सबैभन्दा बढी वर्षा रौतहटमा


काठमाडौँ । मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर औसत १५.७ मिलिमिटर वर्षा मापन भएको छ ।

विभागका अनुसार देशका ४२९ वर्षा मापन केन्द्रमध्ये २११ केन्द्रमा वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रौतहटको सङ्गोलीमा १०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस अवधिमा सबैभन्दा बढी अधिकतम तापक्रम सिरहाको लहानमा ३६.० डिग्री सेल्सियस र सबैभन्दा कम न्यूनतम मनाङको हुम्डेमा १.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अगस्ट महिनाको औसत वर्षा ४३७.६ मिलिमिटर रहेकोमा हालसम्म जम्मा ५८.२ मिलिमिटर वर्षा मात्र मापन भएको छ ।

हाल मनसुन सक्रिय रहेकाले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागले वर्षासँगै नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी नियमित सूचना अनुशरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।