विद्युत् क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको माग


काठमाडौँ । विद्युत्का क्षेत्रमा धेरै किसिमका समस्या भएकाले त्यसको समाधान गरिनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा विद्युत्का विषयमा भएको छलफलका क्रममा समिति सभापति आशिष गजुरेलले पोल नसार्दा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधिले पनि गुनासो गर्ने गरेको बताए । पोल नसारेर विकास निर्माणका काममा ढिलाइ हुँदै आएको छ ।

सांसद भरतकुमार स्वाँरले हाइटेन्सन लाइनको करेन्ट लागेर अछाम जिल्लामा मात्र वार्षिक १२–१३ जनाको निधन हुने गरेकाले समस्या समाधान गर्न माग गरे । हावा लाग्दा र पानी पर्दा विद्युत् लाइन जाने समस्या भएकाले ग्राहक दुःखी रहेकाले समाधान गराउन उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद डा राम लामाले काठको पोलका कारण समस्या भएकाले त्यसलाई कङ्क्रिटको पोलमा रुपान्तरण गर्न माग गरे । सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभामा एकै स्थानमा तीनवटा हाइड्रोपावर आयोजना रहेको उल्लेख गर्दै जिल्लाका अन्य स्थानमा भने आयोजना नरहेको बताए ।

सांसद धनेन्द्र कार्कीले सिन्धुलीमा झ्याप्पझ्याप्प बत्ती गइरहने गरेकाले पहिले जङ्गलमा कालो तार हाल्न माग गरे । तीनपाटन गाउँपालिकाको सबस्टेसन जडान भएको १२ वर्ष पुग्दा पनि सुरु नभएकाले छिटो सुरु गर्न पनि उनले सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।

सांसद गोपाल शर्माले कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइन र सबस्टेसन पर्याप्त नभएकाले बढाउन माग गरे । नेपाल विद्युत् प्राधिकरणले सिङ्गो कर्णाली प्रदेशको एकीकृत टेन्डर गर्ने काम नभई योजना अलपत्र हुने गरेको पनि उनले सुनाए । कर्णाली प्रदेशमा बेलाबेला बत्ती गइरहने सांसद शर्माको गुनासो थियो ।

सांसद सृष्टि भट्टराईले विद्युत्को समस्या उत्पादनमा हो कि वितरण प्रणालीमा भन्ने छुट्याउन नसकिएको उल्लेख गर्दै एउटै सडक पटकपटक खन्नुपर्ने अवस्था किन आउँछ ? भनी प्रश्न गरेकी थिइन् । सांसद धर्मराज केसीले विद्युत् क्षेत्रको समस्याका बारेमा अनुगमनको अभाव हुँदा पनि धेरै समस्या समाधान हुन नसकेको बताए ।

सांसद सुनिल केसीले काठमाडौँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत थलीमा रहेको विद्य्त प्राधिकरणको शाखा कार्यालयले कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका हुँदै मेलम्ची नगरपालिकासम्मको भेग हेर्ने भएकाले काममा समस्या आएको बताए । काठमाडौँ जिल्लामै पर्ने शङ्खरापुर क्षेत्रमा बत्ती गइरहने गरेकाले यो समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराए ।

सांसद मोहम्मद फिरोद आलमले वर्षा, हुरीबतासका कारण रौतहटमा २४सै घण्टा बत्ती जाने गरेको बताए । प्राधिकरणका कार्यालयलाई स्थानीय तहसँग जोडेर जनउत्तरदायी बनाउन व्यवस्था मिलाउन पनि उनले माग गरे । रौतहटमा लालबकैया नदीको अनियन्त्रित बाढीले बालीनाली नष्ट गरी जीउधनकै पनि क्षति हुने अवस्था रहेकाले समस्या समाधान गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद राजकिशोर महतोले तराई क्षेत्र सुक्खाग्रस्त हुने कारण अन्त्य गर्न माग गरे । जनकपुर नगरपालिकाको वडा नं २१ र २२ जोड्ने सबस्टेसन सार्न माग गर्दा पनि नसकिएको उनले सुनाए । सांसद राजेन्द्र राईले मन्त्री र सचिव जिम्मेवार बने परिणाम राम्रो आउने उल्लेख गर्दैै ट्रान्समिटर राख्न जनताले दुःख पाएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव सरिता दवाडीले मन्त्रीले अघि सार्नुभएको सुधारका ३२ बुँदाअनुसार विद्युत् खपत र निर्यातको रणनीति तयार गरिएको बताए । खपत कम हुने समय अर्थात् ३० वर्षअघिको प्रणालीबाट माग बढी हुने समयमा प्रवाह गर्दा समस्या आएको उनले सुनाए । बैठकमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि सांसदहरूले उठाउनुभएका विषयमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।