नाइमा एक्स्पो : दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताको व्यापक सहभागिताले मेलास्थल भरिभराउ बनेको हो ।

मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार छानी–छानी बुक गरिरहेको पाइएको छ । एक्स्पोमा सहभागी कम्पनीहरुका अनुसार महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुचि देखिएको छ ।

काठमाडौंको डिल्लीबजारबाट मेला अवलोकन गर्न आएका दिनेश महर्जनले नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारका कार बुक गर्ने महत्वपूर्ण अवसर भएको बताए । ‘ म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ,’ दिउँसो ३ बजे मेला स्थलमा भेटिएका उनले भने, ‘धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ । बिहान साढे ११ बजेदेखि अहिलेसम्ममा १८-२० वटा गाडी चढिसकेँ होला ।’

मेलामा ठुलो संख्यामा मानिसहरुले कयौं ब्रान्डका गाडी चढेर सुविधा हेरिरहेका र बुझिरहेकाहरु थिए । अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् ।

कम्पनीहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।

आज दोस्रो दिन पनि विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । त्यस्तै आज २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । उद्घाटनको दिन हिजो २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।