काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई रूलिङ गरेका छन्।
प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन् ।
सभामुख अर्यालले भने, “प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकाे छ, यसै सन्दर्भमा प्रतिनिधि सभा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जबाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।”
प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ । “प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ,” नियमावलीमा उल्लेख गरिएको छ ।
सभामुखले निर्धारण गर्ने भनिएको याे व्यवस्था बाध्यकारी हाे । यदि तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।





प्रतिक्रिया