रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु


काठमाडाैँ । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित छ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। बेल्गोरोदका कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले सोमबार उक्त जानकारी दिए।

शुभाएभका अनुसार युक्रेनको सीमाबाट करिब १५ किलोमिटर टाढा पर्ने भालुइस्की जिल्लाको कोलोस्कोभो गाउँमा क्षेप्यास्त्र प्रहार भएको थियो।

आक्रमणबाट एउटा संरचनामा आगलागी हुनुका साथै एउटा सवारीसाधनमा क्षति पुगेको उनले रुसी सरकारी सञ्चारमाध्यम ‘म्याक्स’मार्फत जानकारी दिए।

यो घटना रुस र युक्रेनले एकअर्काको भूभागमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको भोलिपल्ट भएको हो। उक्त आक्रमणमा दुवै पक्षका गरी १९ जनाको मृत्यु भएको थियो।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य कारबाही सुरु गरेयता दुवै पक्षबीच निरन्तर हवाई आक्रमण हुँदै आएको छ। पछिल्लो समय अग्रपङ्क्तिको लडाइँमा अपेक्षाकृत कमी आए पनि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भने तीव्र बनेका छन्।

रुसले युक्रेनका विभिन्न क्षेत्रमा नियमित रूपमा क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएको छ। पछिल्ला दिनमा युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा देखिएको कमजोरीको फाइदा उठाउँदै रुसले ब्यालिस्टिक क्षेप्यास्त्रसहितका हतियार प्रयोग गरेर आक्रमण तीव्र पारेको युक्रेनी अधिकारीहरूको भनाइ छ।

युक्रेनले पनि रुसी भूभागमा ड्रोन तथा अन्य हवाई आक्रमण गर्दै आएको छ। युक्रेनी अधिकारीहरूका अनुसार तेल प्रशोधन केन्द्र तथा अन्य औद्योगिक पूर्वाधारमाथिका आक्रमणको उद्देश्य रुसको युद्ध क्षमतालाई कमजोर पार्नु हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार जुलाईमा युक्रेनमा ४३७ सर्वसाधारणको मृत्यु भएको थियो, जुन मे २०२२ यताकै उच्च मासिक सङ्ख्या हो। रुसी अधिकारीहरूले पनि जुलाईमा आफ्नो भूभागमा ७९ सर्वसाधारणको मृत्यु भएको बताएका छन्।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।