क्यान महासंघ सुदूरपश्चिम प्रदेशले सुरु गर्‍यो ‘एआई फर नेपाल २०२६’

+२ का विद्यार्थीलाई एआई तालिम


काठमाडौँ । क्यान महासंघ सुदूरपश्चिम प्रदेशले ‘एआई फर नेपाल २०२६’ कार्यक्रम सुरु गरेको छ ।+२ तहका विद्यार्थीलाई कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुरु गरेको हो ।

महर्षि कलेजको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमले माध्यमिक तहको शिक्षाबाट आधुनिक प्रविधिमा आधारित अर्थतन्त्रतर्फ प्रवेश गर्न खोजिरहेका विद्यार्थीलाई एआईको आधारभूत ज्ञानदेखि व्यावहारिक प्रयोगसम्मको जानकारी दिने आयोजकले जनाएको छ ।

विश्वभर एआईको प्रयोग शिक्षा, स्वास्थ्य, वित्त, इन्जिनियरिङ, व्यापार तथा सिर्जनात्मक क्षेत्रसम्म तीव्र रूपमा विस्तार भइरहेका बेला नेपाली युवालाई पनि एआई प्रविधिसँग परिचित गराउन अभियान सुरु गरिएको क्यान महासंघ सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्राइभेट लिमिटेडका संस्थापक प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीको पहलमा सुरु भएको अभियानलाई क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धीरेन बोगटीले अघि बढाएका हुन् । अभियानमार्फत सुदूरपश्चिम प्रदेशसहित नेपालभर एआईसम्बन्धी अनुसन्धान, विकास र शिक्षालाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले बदलिँदो प्रविधिको युगमा एआईसम्बन्धी ज्ञान युवाका लागि महत्वपूर्ण सीप बन्दै गएको भन्दै विद्यार्थी तहबाटै यसको प्रयोग र सम्भावनाबारे जानकारी दिन आवश्यक रहेको बताएका छन् ।

त्यस्तै, पीसीपीएसकी चिफ ग्रोथ अफिसर कृपा श्रेष्ठले विद्यार्थीलाई एआईको व्यवस्थित र व्यावहारिक ज्ञान प्रदान गर्दै उनीहरूको क्षमता विकासमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन।

एक दिने गहन तालिमका रूपमा सञ्चालन हुने ‘एआई फर नेपाल २०२६’ मा विद्यार्थीलाई एआईको विकास र प्रयोग, जेनेरेटिभ एआई, विभिन्न एआई उपकरणको प्रयोग, प्रम्प्ट इन्जिनियरिङ, वास्तविक जीवनका समस्या समाधान तथा एआईको सुरक्षित र नैतिक प्रयोगबारे प्रशिक्षण दिइनेछ ।

कार्यक्रममा बिहान ७ बजेदेखि ७ः३० बजेसम्म दर्ता, ७ः३० देखि ७ः४५ बजेसम्म स्वागत मन्तव्य र ७ः४५ देखि ८ बजेसम्म मुख्य सम्बोधनको कार्यक्रम राखिएको छ । त्यसपछि एआई क्रान्ति र स्वचालनभन्दा बाहिरको बौद्धिकताबारे पहिलो सत्र सञ्चालन हुनेछ।

बिहान ८ः१५ देखि ९ बजेसम्म जेनेरेटिभ एआई तथा व्यावसायिक एआई उपकरणसम्बन्धी प्रशिक्षण दिइनेछ । त्यसपछि खाजा समयपछि ९ः४५ देखि १०ः४० बजेसम्म प्रम्प्ट इन्जिनियरिङसम्बन्धी विशेष प्रशिक्षण सञ्चालन हुनेछ । कार्यक्रमको अन्तिम चरणमा एआई नवप्रवर्तन चुनौती बिषयक सत्र आयोजना गरी बिहान ११ बजेदेखि ११ः३० बजेसम्म प्रमाणपत्र वितरण तथा समापन समारोह गरिने आयोजकले जनाएको छ ।

तालिममा सहभागी विद्यार्थीले आधुनिक एआई तथा डेटा विज्ञान प्रणालीका आधारभूत अवधारणा, शैक्षिक तथा व्यावहारिक काममा एआईको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, विभिन्न एआई उपकरणको प्रयोग र एआईबाट प्राप्त परिणामको आलोचनात्मक मूल्याङ्कन गर्ने सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।

यसका साथै विद्यार्थीलाई एआईको नैतिक तथा सुरक्षित प्रयोग, उत्पादकत्व र सिर्जनात्मकता बढाउन प्रविधिको उपयोग तथा एआईसँग सम्बन्धित सम्भावित करियरका विषयमा समेत जानकारी दिइनेछ ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई प्रविधिका निष्क्रिय प्रयोगकर्ताबाट डिजिटल सिर्जनाकर्ता, समस्या समाधानकर्ता तथा नवप्रवर्तकका रूपमा विकास गर्नु हो । एआईलाई भविष्यमा आवश्यक पर्ने महत्वपूर्ण सीपका रूपमा विकास गर्दै विद्यार्थी तहबाटै यसको व्यावहारिक प्रयोग विस्तार गर्ने अभियानको लक्ष्य रहेको छ ।

कार्यक्रममा क्यान महासंघ सुदूरपश्चिम प्रदेशले प्रविधि क्षेत्रको निजी क्षेत्रसँगको सहकार्य र आफ्नो राष्ट्रव्यापी सञ्जालमार्फत एआईसम्बन्धी ज्ञान तथा अवसर विद्यार्थीमाझ पुर्‍याउने जनाएको छ ।

कार्यक्रमको सहकार्य संस्था महर्षि कलेज नयाँ बानेश्वर, काठमाडौंमा रहेको छ । कलेजले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा व्यवसाय प्रशासन, कम्प्युटर विज्ञान तथा सूचना प्रविधिसहितका कार्यक्रम सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ।

‘एआई फर नेपाल २०२६’ मा सहभागी हुन इच्छुक विद्यालय तथा विद्यार्थीले उपलब्ध अनलाइन फाराममार्फत दर्ता गर्न सक्नेछन् । कार्यक्रमले नेपालमा एआई शिक्षाको पहुँच विस्तार गर्दै विद्यार्थीलाई भविष्यको प्रविधि र रोजगारीको बदलिँदो स्वरूपका लागि तयार पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।