चिनियाँ ह्युमनोइड रोबोट निर्माता युनिट्रीको सेयर साङ्घाई स्टक एक्सचेन्जमा बुधबार कारोबार सुरु भएको केही समयमै ६२९ प्रतिशतसम्म बढेको छ । कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मार्फत ९० करोड अमेरिकी डलरभन्दा बढी रकम जुटाएपछि भएको यो उछालले चीनमा तीव्र गतिमा विस्तार भइरहेको रोबोटिक्स उद्योगप्रतिको लगानीकर्ताको उच्च उत्साह देखाएको छ ।
हाङ्झाउमा मुख्यालय रहेको युनिट्री चीनको ह्युमनोइड रोबोट विकासको प्रमुख कम्पनीमध्ये एक हो । सरकारी प्रोत्साहन, बलियो घरेलु आपूर्ति शृङ्खला र प्रविधि क्षेत्रमा बढ्दो लगानीका कारण चीनले रोबोटिक्सलाई रणनीतिक उद्योगका रूपमा अघि बढाइरहेको छ ।
कम्पनीको सेयर बुधबार १५०.८० युआनको निष्कासन मूल्यबाट बढेर कारोबारको सुरुआती चरणमै एक हजार १०० युआन पुगेको थियो । त्यसपछि मूल्य केही घटेर करिब ९०० युआनमा सीमित भएको थियो । युनिट्रीले अमेरिकी नास्डाकसँग तुलना गरिने साङ्घाई स्टक एक्सचेन्जको प्रविधि केन्द्रित स्टार बजारमा सूचीकरण गरेको हो ।
युनिट्रीले सोमबार ‘सुपरम्यान’ नामक नयाँ ह्युमनोइड रोबोट सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार उक्त रोबोट दुई मिटर उचाइसम्म उफ्रिन र प्रतिघन्टा १२.६६ मिटर प्रतिसेकेन्डसम्मको गतिमा दौडिन सक्छ । यो गति १०० मिटर दौडमा निरन्तर कायम राख्न सकेमा विश्व कीर्तिमानधारी धावक उसेन बोल्टभन्दा पनि तीव्र हुने कम्पनीको दाबी छ ।
युनिट्रीका रोबोटले गत वर्ष चीनको वार्षिक वसन्त उत्सव गालामा विशेष ध्यान खिचेका थिए । परम्परागत चिनियाँ पोसाक लगाएका रोबोटले ब्याकफ्लिप, कुङफु र टेबलमाथि उफ्रिने जस्ता गतिविधि प्रदर्शन गरेका थिए ।
रोबोटिक्स इन्जिनियरिङ कम्पनी जेरोथका संस्थापक तथा प्रमुख कार्यकारी रेन्जी गुओका अनुसार युनिट्रीका उत्पादन चिनियाँ अनुसन्धानकर्ता तथा संस्थाले मात्र नभई एनभिडिया, गुगल र अमेजनजस्ता अमेरिकी प्रविधि कम्पनीले पनि प्रयोग गरिरहेका छन् । उनका अनुसार युनिट्री वरिपरि विकसित भएको प्रविधि र आपूर्तिको पारिस्थितिक प्रणालीले अन्य कम्पनी तथा अनुसन्धानकर्तालाई पनि आफ्ना उत्पादन विकास गर्न सहज बनाएको छ ।
चीनमा युनिट्रीबाहेक युबिटेकलगायतका कम्पनीले पनि ह्युमनोइड रोबोट विकास गरिरहेका छन् । युबिटेकले यसै वर्ष आँखा क्यामेरा, छातीमा सेन्सर र आवाज सुन्ने माइक्रोफोनसहितको ‘यु–१’ रोबोट सार्वजनिक गरेको थियो ।
चिनियाँ सरकारले रोबोटिक्सलाई रणनीतिक उद्योगका रूपमा प्राथमिकता दिएको छ । गत वर्षसम्म चीनका १४० भन्दा बढी कम्पनीले ३३० भन्दा बढी ह्युमनोइड रोबोटका मोडेल विकास गरिसकेको बताइएको छ । ती कम्पनीले रोबोटलाई मानिसजस्तै स्वतन्त्र रूपमा वातावरण बुझ्न, हिँड्न र वस्तुसँग अन्तरक्रिया गर्न सक्षम बनाउने ‘फिजिकल एआई’ प्रविधिमा ठूलो लगानी गरिरहेका छन् ।
ह्युमनोइड रोबोटिक्सको तीव्र विकासले यो क्षेत्रलाई अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाको नयाँ मोर्चासमेत बनाएको छ । अमेरिकाले युनिट्रीलाई गत जुनमा चिनियाँ सेनालाई सहयोग गरेको आरोप लागेका कम्पनीको सूचीमा राखेको थियो । जुलाईमा ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकामा आयातमा प्रतिबन्ध लगाइएका उत्पादन तथा कम्पनीको सूचीमा चीनमा निर्मित ह्युमनोइड र चार खुट्टामा हिँड्ने रोबोटसमेत समावेश गरेको थियो ।
बेइजिङस्थित भेन्चर क्यापिटल कम्पनी जिन्किउ क्यापिटलका साझेदार तियान्यु जाङले युनिट्रीको आइपिओलाई चीनको ह्युमनोइड रोबोट उद्योगका लागि महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन । गत वर्ष युनिट्रीको लगानी चरणमा सहभागी हुनुभएका उहाँका अनुसार अब कम्पनी र समग्र उद्योगले वास्तविक संसारमा रोबोटको प्रयोग कति छिटो र प्रभावकारी रूपमा विस्तार गर्न सक्छ भन्ने कठोर परीक्षाको सामना गर्नुपर्नेछ ।
उनले उद्योगले आगामी दिनमा आफ्ना प्रविधिको व्यावहारिक उपलब्धिबारे नियमित रूपमा सार्वजनिक रूपमा मूल्याङ्कन प्रस्तुत गर्नुपर्ने बताए।





प्रतिक्रिया