अमेरिकाले दुई लाखसम्म विदेशीको बी १ र बी २ भिसा रद्द गर्ने


काठमाडौँ । अमेरिकी सरकारले दुई लाखसम्म विदेशी नागरिकको व्यापारिक (बी१) र पर्यटक (बी२) भिसा रद्द गर्ने तयारी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले पछिल्ला १८ महिनामा करिब एक लाख ७५ हजार भिसा रद्द गरिसकेको छ । सामान्यतया बी१ भिसा व्यापारिक भ्रमण र बी२ भिसा पर्यटन, पारिवारिक भेटघाट वा उपचारका निम्ति जारी गरिन्छ ।

अमेरिकी विदेश मन्त्रालयले आउँदा दिनमा सन् २०१६ देखि २०२६ बीच जारी गरिएका केही बी १ र बी २ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने जनाइएको छ । प्रस्तावित कारबाही विशेष गरी अमेरिका पुगेपछि शरणका निम्ति आवेदन दिएका वा दिने तयारीमा रहेका व्यक्तिहरू लक्षित हुनेछ ।

विदेश मन्त्रालयले भिसा रद्द गरिने व्यक्तिको अन्तिम संख्या भने सार्वजनिक गरेको छैन । यो प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने भएकाले प्रभावित व्यक्तिको संख्या परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट निष्कासन गरिने छैन । तर, शरणका निम्ति आवेदन प्रक्रियामा रहेका व्यक्तिको कानुनी अवस्थामाथि यसको प्रभाव पर्न सक्नेछ ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  १० : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।