महेन्द्रनगर आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन


कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले आय करतर्फ एक अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी भ्याटतर्फ ५१ करोड ५८ लाख रुपैयाँ र अन्तःशुल्कतर्फ ८० करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । “आयकर लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।” कर अधिकृत बस्यालले भने, “गत आवमा फ्याक्ट्रीहरुले निकासी कम मात्रामा गरेकाले अन्तःशुल्क लक्ष्यअनुसार सङ्कलन हुन सकेन ।”

कार्यालयले आर्थिक वर्ष २०८१/८२ दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा कार्यालयले दुई अर्ब ८७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उनले बताए ।

कर अधिकृत वस्यालका अनुसार गत आर्थिक वर्षमा एक हजार ४०० व्यावसायिक फर्म करको दायरमा आएका छन् भने नौ हजार ९६५ जनाले व्यक्तिगत प्यान लिए । पछिल्लो समय सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपहार योजना ल्याएको छ ।

उक्त उपहार योजनामा पहिलो विजेता कञ्चनपुरकै करदाताले १० लाख रुपैयाँ प्राप्त गरे । “हामी अनुगमनमा जाँदा बिल लिनेको सङ्ख्या बढेको पाएका छौँ”, उनले भने, “पहिलो उपहार विजेता यहीँको भएर पनि अहिले यो सङ्ख्या बढेको पाइएको छ ।”

कार्यालयले करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको छ । गत आवमा जिल्लाका विभिन्न स्थानमा २३ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको अधिकृत बस्यालले बताए ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  १७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।