साउन महिनामा भित्रियो ८ अर्बको खाना पकाउने ग्यास, बजारमा अभाव कायमै


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा ८ अर्ब बढीको खाना पकाउने ग्यास आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनमा ८ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको ५ करोड ७३ लाख ३४ हजार केजी ग्यास नेपाल भित्रिएको हो । उक्त ग्यास आयातबाट १ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधीमा ४ करोड ४३ लाख १८ हजार किलोग्राम एलपी ग्यास आयात भएको थियो । उक्त परिमाणको ग्यास आयात हुँदा ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बिदेशिएको थियो । चालु वर्ष साउनमा भएको आयात परिमाण गत वर्षको सोही महिनाभन्दा २२.७० प्रतिशतले बढी हो ।

नेपाल आयल निगमले खाना पकाउन प्रयोग हुने ग्यासको आयात उल्लेख्य रूपमा बढाए पनि बजारमा अभाव भने कायमै देखिएको छ । महिनौँदेखि उपभोक्ताहरु ग्यास अभावमा भौतारिरहेका छन् । एक सिलिण्डर ग्यास पाउनका लागि हप्तौँ कुर्नुपर्ने बाध्यता भएको छ । ठूलो परिमाणमा ग्यास भित्रिए पनि देशका विभिन्न भागका उपभोक्ताले अझै सिलिन्डर पाउन कठिनाइ भोग्नुपरेको गुनासो गरिरहेका छन् । आपूर्ति बढे पनि बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित हुन सकेको छैन ।

पछिल्ला महिनादेखि घरेलु बजारमा देखिएको आपूर्ति अवरोधका बीच ग्यास आयातमा तीव्र वृद्धि भएको भन्सार विभागले जनाएको छ । मध्यपूर्व तनाव र त्यसपछि इरानले विश्वको प्रमुख ऊर्जा पारवहन मार्ग स्ट्रेट अफ हर्मुज बन्द गरेपछि एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्तिमा थप दबाब परेको छ । यसले एसियाली बजारतर्फको ढुवानी प्रभावित हुनुका साथै नेपालको आपूर्ति शृंखलामा समेत अनिश्चितता सिर्जना गरेको छ ।

आपूर्ति अभाव चर्किएपछि सरकारले गत मार्चमा एलपी ग्यास आधा भरिएका सिलिन्डरसमेत बजारमा पठाउन निर्देशन दिएको थियो । नियमित आपूर्ति गर्न कठिनाइ भइरहेका बेला उपभोक्तालाई ग्यास उपलब्ध गराउने उद्देश्यले अपनाइएको व्यवस्थाले तत्कालीन अभाव केही हदसम्म व्यवस्थापन गर्न सहयोग गरेको थियो ।

आपूर्ति अवस्था सुधार हुन थालेपछि सरकारले साउनको पहिलो साता आधा ग्यास भरिएका सिलिन्डर बजारमा पठाउने व्यवस्था हटायो । तर, भरि सिलिन्डर बजारमा आउन थालेपछि माग बढ्दा खाना पकाउने ग्यासको अभाव झन् गम्भीर बनेको छ ।
अभाव बढ्दै गएपछि सरकारले केही दिन आफ्नै संयन्त्रमार्फत एलपी ग्यास वितरण गरेर प्रत्यक्ष हस्तक्षेपसमेत गरेको थियो । त्यसका बाबजुद बजारमा सहज आपूर्ति हुन सकेको छैन ।

उपभोक्ताले अझै ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको बानेश्वरस्थित किराना स्टोर्सका सञ्चालक अर्जुन श्रेष्ठ बताउँछन् । ‘अहिले पनि मानिसहरूले खाना पकाउने ग्यासका लागि दिनहुँ कुर्नुपर्छ ।’ उनले भने, ‘मेरो पसलमा दुई लट सिलिन्डर आएपछि मात्रै नाम दर्ता गरेका सबै ग्राहकलाई ग्यास दिन सक्ने अवस्था छ ।’ उनका अनुसार, अवस्था सहज हुन अझै केही समय लाग्ने देखिएको छ । केही समय अघिको अवस्थाभन्दा त सामान्य भएको छ, तर पहिलेकै जस्तो सहज भने भएको छैन ।

ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले अहिलेको ग्यासको बजार सहज हुन केही समय लाग्ने बताए । ‘आधि सिलिण्डर अधिकांशको घरमा थुप्रिएर ठूलो संख्यामा बसेको थियो, अहिले पूर्ण तौलको आएपछि ति सबै खाली सिलिण्डर एकै पटक बजारमा आउँदा बजार अस्तव्यवस्त बनेको हो,’ उनले भने, ‘झन् हल्लाको भरमा बढी सिलिण्डर राख्नेले पनि सिलिण्डर बजारमा ल्याउँदा झनै भयावह अवस्था सिर्जना भएको हो ।’

बजार विश्लेषकका अनुसार यसअघि आधा सिलिन्डर ग्यास भर्ने निर्णयले ग्यास ढुवानी गर्ने बुलेटहरूको संख्यामा चाप परेको र कम्पनीहरूमा बुलेटहरू अलपत्र पर्दा नियमित आपूर्ति प्रणाली बिग्रिएको थियो ।

उपभोक्ताले अनावश्यक संख्यामा ग्यासको सिलिण्डर जम्मा गरेका कारण बजारमा समस्या आएको ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए ।

‘यो समस्यालाई समाधान गर्न उपत्यकासहित देशभरका ग्यास बिक्रेतालाई पर्याप्त परिमाणमा समयमै ग्यासको आपूर्ति सुनिश्चित गर्नुपर्छ ।’ उनले भने, ‘एक स्थानबाट सबै ग्यास सिलिण्डर बिक्री गरेर समस्या समाधान हुँदैन । उल्टै समस्यामा परेका उपभोक्तालाई महँगीको थप मार पर्छ ।’

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।