काठमाडौँ । त्रिशूली नदीमा आज बिहान अकस्मात आएको विनाशकारी बाढीबाट रसुवाको टिमुरेदेखि तलको तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघले गहिरो दुःख व्यक्त गरेको छ ।
संघले विनाशकारी बाढीमा ज्यान गुमाएका सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइते र अलपत्र व्यक्तिहरुको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामना गरेको छ । उक्त बाढीबाट सडक, पुल, विद्युत् र सञ्चार पूर्वाधार, जलविद्युत् आयोजनाहरु, निजी र सार्वजनिक आवास जस्ता महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको देखिएको संघले जनाएको छ ।
संघले यो कठिन घडीमा प्रभावित सम्पूर्ण व्यक्तिहरुमा सहानुभूति प्रकट गर्दै खोज, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकहरुमा उच्च सम्मान प्रकट गरेको छ । बाढीको जोखिम अझै कायमै रहेको सूचना आइरहेको भन्दै संघले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायत सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्न हार्दिक अनुरोध समेत गरेको छ ।
विपद्को यो घडीमा उद्धार एवं राहत कार्यमा सहयोग गर्न संघले सम्पूर्ण सदस्य, आम नागरिक, सहायता संस्थाहरुलाई हार्दिक अपिल समेत गरेको छ ।





प्रतिक्रिया