‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’


काठमाडौँ । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ । 

उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । 

नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ । 

त्यस्तो अवस्थामा ‘एसएमएस’लगायत उपलब्ध सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिनेछ । महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  ०६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।