हवाई भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण


काठमाडौँ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

बुधबार भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बुद्ध एयरले दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको आवागमन सहज बनाउन बुद्ध एयरले भैरहवा, भरतपुर तथा पोखराका लागि साबिककै सहज तथा सुलभ भाडादरमा थप उडान सञ्चालन गरेको जनाएको छ । यात्रुको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै आज पनि विभिन्न गन्तव्यमा थप उडानको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।

बुद्ध एयरका अनुसार उद्धार तथा राहत कार्यमा संलग्न सरकारी तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै यात्रुलाई हवाई सेवामार्फत सहज, सुरक्षित तथा भरपर्दो सेवा प्रदान भइरहेको छ ।

त्यस्तै, उद्धार कार्यमा खटिएका टोलीको आवागमन सहज बनाउन आवश्यक हवाई यात्रा व्यवस्थासमेत मिलाइएको कम्पनीले जनाएको छ ।

विपद्को कठिन घडीमा प्रभावित नागरिकको सेवामा समर्पित रहँदै उद्धार तथा राहत प्रयासमा आफ्नो तर्फबाट सक्दो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता बुद्ध एयरले व्यक्त गरेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।