ललितपुर । रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि महालक्ष्मी नगरपालिकाले ३० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने भएको छ ।
नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतमा आज बसेको कार्यपालिका बैठकले विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको सात दिनको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरपालिकाले बाँकी अपुग रकम आन्तरिक कोषबाट व्यहोर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाउँदै नगर प्रमुख श्रेष्ठले छिमेकी जिल्लामा परेको ठूलो प्राकृतिक विपत्तिमा मानवीय सहयोग पु¥याउनु दायित्व रहेको बताए ।
नगरप्रमुख श्रेष्ठले भने, “रसुवागढी र आसपासका क्षेत्रमा बाढीले पुर्याएको क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ, यस कठिन घडीमा पीडित परिवारको मलमपट्टीका लागि नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी हातेमालो गर्दै ऐक्यबद्धता जनाउन उभिएका हौँ ।”
नगरपालिकाले नगरपालिकाको एम्बुलेन्स तथा नगर प्रहरीसहितको टोलीलाई विपद् क्षेत्रमा विपद्का कारण घाइते भएका व्यक्तिको उद्धार तथा आवश्यक सहयोगका लागि परिचालन समेत गरेको छ ।
घाइतेको शीघ्र उद्धार गरी आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याउने कार्यमा टोली सक्रिय रहेको उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिए ।
भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको छ । बाढीका कारण ३५ वटा पक्कि पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको छ ।





प्रतिक्रिया