काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको बताएको छ। स्थानीय प्रशासनले रसुवाको भोटेकोशीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको थियो ।
यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले सतर्कता अपनाउन अनुरोध गरेका थिए ।
तर, बाढी पूर्वानुमान महाशाखाले भदौ १४ गते बिहान ५:४५ बजे एक अद्यावधिक सूचना जारी गर्दै त्रासपूर्ण अवस्था नरहेको प्रस्ट पारेको छ। महाशाखाले जारी गरेको सूचनाअनुसार, जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव केही बढेको छ।
तर, हाललाई रसुवा, नुवाकोट, र धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जानकारी गराएको छ। यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको थियो।





प्रतिक्रिया