पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै


रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा यही भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)का सहयोगमा नेपाल रेडक्रस सोसाइटीले ‘जेनेरेटर’ यहाँ ल्याएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयवासी सहित धुन्चे रहेका बाढी पीडित र तीर्थालुहरु आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो । यसका लागि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए । सदरमुकाम धुन्चेमा ‘जेनेरेटर’ ल्याइएसंगै निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ ।

अहिले १०० भन्दा बढीले एकसाथ मोबाइल चार्ज गरिरहेको नेपाल रेडक्रसले जनाएको छ । यसबाट टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज बनेको छ । सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा–टाढाबाट आएका सेवाग्राहीलाई राहत मिलेको छ ।

चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुनः सम्पर्क स्थापित गर्न सफल भएका छन् । एकजना बाढीप्रभावितले भने, “फोनकलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ ।” बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिरहेको र चाँडै सेवा सुचारु गराउन पहल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।