काठमाडौँ । भोटेकोसी क्षेत्रमा भएको ठूलो मानवीय विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै एमएडब्लू ग्रुपले प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैविक उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ ।
विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरू कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा मानवीय सहयोगलाई प्राथमिकता दिँदै उक्त रकम कोषमा प्रदान गरिएको समूहले जनाएको छ । विपद्को समयमा राज्यको राहत तथा उद्धार प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले तत्काल आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
एमएडब्लू ग्रुपका अनुसार प्राकृतिक विपत्ति र मानवीय संकटका बेला प्रभावित समुदायको साथमा उभिनु निजी क्षेत्रको सामाजिक दायित्वसमेत हो । त्यसैलाई आत्मसात् गर्दै समूहले भोटेकोसी विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोगको हात अघि बढाएको जनाएको छ । समूहले विपद्को यस कठिन घडीमा पीडित नागरिक तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा संलग्न सबै निकाय, सुरक्षाकर्मी, स्थानीय समुदाय तथा स्वयंसेवकप्रति समेत सम्मान व्यक्त गरेको छ । एमएडब्लू ग्रुपले आगामी दिनमा पनि परिस्थितिको आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित समुदायलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
विशेषगरी प्रभावितहरूको उद्धार, तत्काल राहत, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणमा सक्दो सहयोग गर्ने समूहको भनाइ छ । विपद्का कारण ठूलो मानवीय क्षति व्यहोर्नुपरेको अवस्थामा निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ । एमएडब्लू ग्रुपको यो सहयोगले विपद्को समयमा व्यवसायिक संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउनुपर्ने सन्देशसमेत दिएको छ ।





प्रतिक्रिया