कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सडकको अध्ययन गरिने


काठमाडौँ । कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ । यस्तै, दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सडकको विकल्पमा अध्ययन हुनेछ ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विविध उपायका बारेमा छलफल भएको जानकारी दिए । मन्त्रालयमा आज बसेको बैठकले राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापनाका लागि हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाउने निर्णय भएको उनले दिए । 

यस्तै, कृष्णभीर माथिबाट नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ । 

यस्तै, सडक सञ्चालनका लागि ‘ट्र्याक’ खोल्ने, ‘ग्याबियन बक्स’ तयार पार्ने तथा ‘बोल्डर’ हिलसाइडबाट तल खसालिनेछ । पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग निर्माण, ‘सोइल नेलिङ’, ‘सिट पाइल’लगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने छ ।

मन्त्रालयले सुरुङ वा बाइपास सडक निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनेछ । सो विकल्पको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने छ । त्यसका लागि आवश्यकताअनुसार सडक विभागसँग समझदारी ९एमओयू० गरिनेछ ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार  ०६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।