विपद्को बेला ग्यासमा गरिएको मूल्यवृद्धि ‘अमानवीय’

तत्काल खारेज गर्न उपभोक्ता मञ्चको माग


काठमाडौँ । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेका बेला खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । सो मूल्यवृद्धिप्रति राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लामो बाटोबाट ढुवानी गर्नुपरेको बहाना अघि सार्दै उद्योगीहरूले गरेको यो मूल्यवृद्धिलाई मञ्चले अमानवीय र निन्दनीय मानेको छ ।

विपद्को मौका छोपेर कालोबजारी गर्ने नियतले उपभोक्ताको ढाड भाँचिने गरी मूल्य बढाइएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विपद्को मौका छोपेर, रातारात कालोबजारी गर्ने नियतले दुःखी र पीडित उपभोक्ताको ढाड भाँचिने गरी गरिएको यो मूल्यवृद्धि हदैसम्मको अमानवीय भएको विज्ञप्तिमा उल्लेख गरेका छ ।

झन् विडम्बनाको कुरा त के छ भने सङ्कटको बेला बजार अनुगमन र मूल्य नियन्त्रण गरी उपभोक्तालाई राहत दिनुपर्ने दायित्व बोकेको सरकारी निकाय ‘नेपाल आयल निगम’ स्वयम् उद्योगीहरुको यो नाफाखोर प्रवृत्ति र लुटतन्त्रमा मिलोमतो गरी रमिते बनेको मञ्चको आरोप छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल सरकार, सम्बद्ध मन्त्रालय र नियमनकारी निकायसमक्ष राखेका मागहरु :

१. विपद् र ढुवानीको बहानामा ग्यासमा गरिएको १०५ रुपैयाँ मूल्यवृद्धि तत्काल खारेज गरियोस् ।

२. राष्ट्रिय सङ्कटको मौका छोपी लुट मच्चाउने उद्योगी तथा व्यवसायीहरु र त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिलोमतो गर्ने नेपाल आयल निगमका सम्बन्धित पदाधिकारीहरुमाथि तत्काल उच्चस्तरीय छानबिन गरी कडाभन्दा कडा कानुनी कारबाही गरियोस् ।

३. विपद्को समयमा खाना पकाउने ग्यास लगायत सम्पूर्ण दैनिक उपभोग्य वस्तुहरुको सहज, सुलभ र नियमित आपूर्तिको सुनिश्चितता गरियोस् ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १४ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।