काठमाडौँ । रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिएका सामान अब काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमै जाँचपास गर्न सकिने भएको छ।
भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयबाट पैठारीका लागि आएका वस्तुलाई आन्तरिक परिवहन सुविधाअन्तर्गत सिधै चोभारसम्म ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको हो। विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय भएको छ ।
मालबाहक सवारी साधनको हकमा कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ–छुसाङ–कागवेनी–जोमसोम–बेनी–कुस्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलङ्की–सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्ने गरी रुट तय भएको छ ।
सो रुटमा समस्या आएको अवस्थामा सवारी साधन मुग्लिङ–नारायणघाट–हेटौडा–भैसे–नौबिसे–कलंकी–चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न पाउने गरी रुट तोकिएको छ ।
गुडाएर लैजाने नयाँ सवारी साधनलाई तत्कालका लागि हेटौडातर्फकै रुट तय गरिएको छ । रसुवागढी नाका प्रलयकारी बाढीले तहसनहस भएसँगै अहिले मुस्ताङस्थित कोरला नाका विकल्पका रुपमा प्रयोग भइरहेको छ । यो व्यवस्थाले विशेषगरी चीनबाट आउने मालसामानलाई वैकल्पिक मार्गमार्फत काठमाडौंसम्म ल्याउन र एकै स्थानबाट जाँचपास गर्न सहयोग पुग्ने देखिएको छ।





प्रतिक्रिया