भोटेकोसी बाढीः विभिन्न जलविद्युत् आयोजनामा उद्धार कार्य जारी


काठमाडौँ । भोटेकोसी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा थुनिएकाहरूको उद्धार जारी छ । शुक्रबार ३ बजेसम्म त्रिशूली–३‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो । उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइएको छ ।

उद्धारका क्रममा सोही स्थानबाट एकजनाको शवसमेत निकालिएको छ भने थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धार टोली परिचालन गरिएको छ । टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी उक्त स्थानसम्म पुग्न बाटो निर्माण तथा माटो हटाउने काम गरिरहेको छ ।

उद्धार टोली ‘अडिट–१’ बाट ४२६ मिटरभित्र प्रवेश गरिसकेको र अडिट–१ बाट उत्खनन गर्ने मेसिन सुरुङभित्र प्रवेश गराउन अपरेटरसहितको टोलीमार्फत त्रिशूली–३ ‘ए’सँग जोड्ने काम भइरहेको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनाका २५ जना तथा दुईजना गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुई वटा शव फेला पारेको छ । त्यहाँ पनि थप खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

चिलिमे जलविद्युत् आयोजनामा भने विदेशी नागरिकसहितको संयुक्त टोलीले जेनेरेटर र लेदो तान्ने पम्पको सहायताबाट सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ ।

त्यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले र्‍याफ्ट र डुंगासमेत प्रयोग गरी खोजी गरिरहेको छ । सुरुङभित्र जम्मा भएको पानी बाहिर निकाल्ने काम पनि भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।