काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ‘ग्रेड’ मिलाउने काम भइरहेकाले केही बेरमा खाली ग्यास बुलेट गुडाएर अवस्था परीक्षण गर्ने तयारी गरिएको हो ।
सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरेर काम भइरहेको छ । अहिले धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोली कृष्णभीरमा स्थलगत निरीक्षणमा पुगेको छ ।
दुई बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका निम्ति आवश्यक ‘प्लेटफर्म’ तयार गर्ने काम भइरहेको छ ।
सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ । तत्कालका निम्ति अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको छ ।
मौसमले साथ दिएमा आजै आंशिक रूपमा ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ । त्यसअघि, खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिनेछ ।
कृष्णभीरमा सडक चिल्लो र सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायत काम पूरा गर्नुपर्ने अवस्था छ ।





प्रतिक्रिया